काठमाडौंमा सौर्यबत्ति जडान सुरु, २२ सय बत्ति जोडिने



काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सौर्यबत्ती राख्ने काम सुरु भएको छ ।

बत्ती जडानको जिम्मा पाएको बिके ट्रेडर्सले केही दिनअघिदेखि काम सुरु गरेको छ । ट्रेडर्सका अध्यक्ष रोशन श्रीवास्तवका अनुसार पहिलो चरणमा अनामनगरमा जडानको काम भइरहेको छ ।

कामपाले आगामी डेढ वर्षभित्र काठमाडौँ उपत्यकाका प्रमुख सहरमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत सौर्यबत्ती जडान गर्ने लक्ष्य लिएको छ । सोअनुसार कलङ्कीदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल, क्षेत्रपाटी हुँदै सोह्रखुट्टे, बालाजु र नयाँ बसपार्कमा गरी पहिलो खण्डमा चार सय खम्बा राखिने कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

दोस्रो खण्डमा दरबारमार्गदेखि काठमाडौं प्लाजा, कमलपोखरी तथा गौशालामा राखिने छ । त्यस्तै ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तिसपुतली, डिल्लीबजार र पुतलीसडकमा जोडिने बताइएको छ । सो खण्डमा तीन सयसौर्य बत्ती जडान गरिने बताइएको छ । त्यसैगरी तेस्रो खण्डमा तीन सय ८५ खम्बा राखिने छ ।

सो खण्ड अन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शङ्खमूल पुल, तीनकुने, कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर तथा भीमसेनगोला हुँदै सिनामङ्गल चोक रहेका छन् ।

निर्माणका लागि जिम्मा पाएको कम्पनीले एउटा खम्बाको वार्षिक ८ हजार ७ सय रुपैयाँ रोयल्टी कामपालाई बुझाउनुपर्ने छ ।

सम्झौतानुसार निर्माण अवधिबाहेक १० वर्षपछि सौर्यबत्ती, ब्याट्री तथा विज्ञापन स्वतः कामपाको हुनेछ । जडानका लागि आवश्यक पूर्वाधार तथा लागत सम्बन्धित कम्पनीले नै व्यहोर्ने छ । कामपाले एक हजार दुई सय ८५ सौर्यबत्ती जडान गर्ने लक्ष्य राखेको छ । रासस


पुष्प दुलाल