उद्योगमन्त्री जोशीले भने- नेपाली उद्योगीहरुमा उद्यमशीलताको कमी छ



काठमाडौं । उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपाली उद्योगीहरुमा उद्यमशीलताको कमी रहेको बताएका छन् ।

नेपाली उद्योगपतिहरु नेपालमै उत्पादन गर्नुभन्दा पनि विदेशबाट आयातित वस्तुहरुको व्यापारमा बढि केन्द्रित भएको भन्दै मन्त्री जोशी यस्तो बताए ।

‘नेपाली उद्योगपतिहरुमा व्यक्तिगत लोभ रहेको र उनीहरुमा उद्योगहरुलाई कसरी विकास गर्नुपर्छ भन्ने साझा सरोकारका विषय छैन,’ नेपाली ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको आठौं वार्षिक साधारणसभामा उनले भने ।

नेपाली युवाहरुलाई देशमै केहि गर्नुपर्छ भन्ने भावना उद्योगपतिहरुले दिलाउन नसकेका कारण नेपाली युवाहरु विदेशिनु परेको उनको भनाई थियो ।

‘उद्योगीहरुले नेपाली युवाहरुलाई नेपाली उद्योगमा सम्भावना छ भन्न जरुरी छ,’ उनले भने, ‘नेपाली उद्योग क्षेत्रलाई प्रभाकारी कसरी बनाउन सकिन्छ भन्ने भिजन उद्योगपतिहरुले ल्याए म त्यसलाई कार्यन्वयन गर्छु ।’

नेपालमा व्यवसाय गर्ने आधारभूत स्तम्भ निर्माणका गर्नका लागि उद्योग सम्बन्धी दुई वटा ऐन ल्याइसकेको र दुई वटा ऐन ल्याउने तयारीमा सरकार रहेको उनले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योगहरु वार्षिक रुपमा ६ अर्ब रुपैयाँको निर्यात गर्ने गरेको र त्यसमध्ये ऊनी फेल्टले मात्रै १ अर्ब ५० करोडको निर्यात भइरहेको ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष नरेश लाल श्रेष्ठले बताए ।

देशको अर्थतन्त्र आयतमुखी बन्दै गएको अवस्थामा निर्यातको २५ प्रतिशत हिस्सा ओगटेको उद्योगले सरकारबाट आवश्यक सहयोग नपाएको उनले गुनासो गरे ।
‘फेल्ट उद्योग जागिर दिने भाँडो र उद्योग बचाउने काम मात्र भइरहेको छ,’ श्रेष्ठले भने ।

ऊनी फेल्टको कच्चा पर्दाथ न्युजिल्याण्डबाट आयत हुँदै आएको छ ।

विदेशबाट कच्चा पर्दाथ आयात गर्नु पर्ने भएकाले यातायात भाडा र समय धेरै लाग्ने भएकाले फेल्टको मुल्य अन्य मुलुको तुलनामा २० प्रतिशत बढि पर्ने उनले जानकारी दिए ।

‘नेपाल सरकारले ५० प्रतिशत नगत प्रोत्सान दिँदै आए पनि त्यो झन्झिटिलो र धेरै उद्योगीहरुले नपाएको र नगद प्रत्साहन भन्दा पनि कच्चा पर्दाथ आयातमा सहूलियत दिँदा उघोगीहरुलाई राहत मिल्छ,’ उनले भने ।

ऊनी फेल्टले २५ हजार नेपालीलाई प्रत्यक्ष रोजगारि दिइरहेको छ ।


पुष्प दुलाल