निक्षेपको ब्याजदर ६ वर्ष यताकै उच्च, बैंकर भन्छन्- १२ प्रतिशतसम्म पुग्छ



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजी (तरलता) अभाव बढ्दै गएपछि निक्षेपको ब्याजदर ६ वर्षयताकै उच्च बिन्दुमा पुग्ने देखिएको छ । ०६६ सालमा तरलता अभाव हुँदा ब्याजदर उच्च थियो । अहिले फेरि त्यस्तै अवस्था देखिएको हो ।

नेपाल बैकर्स संघका उपाध्यक्ष एवं सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनका अनुसार पुस मसान्तमा निक्षेपको ब्याजदर १२ प्रतिशतसम्म पुग्ने अवस्था रहेको छ ।

‘सरकारले विकास खर्च गर्न सकेको छैन, पुस मसान्तमा कर संकलनको लागि ३०\४० अर्ब सरकारी ढुकुटीमा जाने देखिन्छ । जसको कारण ब्याजदर अझै बढ्ने छ,’ महर्जनले क्लिकमाण्डूसँग भने ।

चार महिना अघिसम्म चार प्रतिशत ब्याजदरमा मुद्दति निक्षेपमा ब्याजदर उठाएका बैकहरुले अहिले ब्याजदर ९ प्रतिशतसम्म पुर्याएका छन्

बैंकहरुले तरलता अभावको कारण मुद्दति निक्षेपको ब्याजदर चार महिनाको अवधिमा शतप्रतिशत बढेको छ ।

‘चार महिना अघिसम्म चार प्रतिशत ब्याजदरमा मुद्दति निक्षेपमा ब्याजदर उठाएका बैकहरुले अहिले ब्याजदर ९ प्रतिशतसम्म पुर्याएका छन्,’ महर्जनले भने ।

असोज मसान्तमा निक्षेपमा ८ प्रतिशतभन्दा बढी ब्याजदर नलिने ‘भद्र सहमति’ गरेका बैंकहरुको त्यो सहमति कार्यान्वयन भने भएन ।

विकास खर्च नभएको तथा रेमिटेन्स अप्रवाह घटेको कारण यसको प्रभाव बैकिङ क्षेत्रको तरलतामा परेको हो । बैंकरहरुले माघदेखि विकास खर्च बढ्ने अनुमानको आधारमा अहिलेसम्म तरलता अभावलाई अल्पकालिन भन्दै आएका छन् ।

‘अहिलेको जसरी ब्याजदर बढिरहेको छ, त्यसमा हामी सन्तुष्ट छौं,’ राष्ट्र बैंकका सह-प्रवक्ता राजेन्द्र पण्डितले भने, ‘हामी असन्तुष्ट हुन्थ्यौं त बजारमा तरलता प्रबाह गर्ने थियौं ।’

तरलता अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा दिने कर्जा मार्जिन लेन्डिङ तथा घरजग्गा कर्जा दिन बन्द गरेका छन् । कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८० प्रतिशत नजिक पुगेको हुँदा अन्य कर्जा दिन पनि बैंकहरुलाई समस्या परेको महर्जनले बताए ।

राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ क्षेत्रमा ५\६ अर्ब रुपैयाँ मात्रै तरलता छ । जसकारण बैंकहरु मोटो रकम नयाँ लगानी बढाउन सक्ने अवस्था छैनन् ।

निक्षेपको ब्याजदर बढ्नु निक्षेपकर्ताहरुको हितमा भएको राष्ट्र बैंकका सह-प्रवक्ता राजेन्द्र पण्डितले बताए ।

‘व्याजदर साह्रै कम थियो, जसकारण पुँजी पलायनको खतरा पनि उत्तिकै थियो,’ पण्डितले क्लिकमाण्डूसँग भने, ‘त्यसैले हामीले ब्याजदर बढ्नुपर्छ र स्थिर हुनुपर्छ भनेर काम गरिरहेका थियौं ।’

अहिले ब्याजदर बढ्दा पनि राष्ट्र बैंक चुप लागेर बस्नु भनेको निक्षेपकर्ताले अझै बढी ब्याज पाउन भन्ने प्रष्ट संकेत भएको उनको भनाई छ ।

‘अहिलेको जसरी ब्याजदर बढिरहेको छ, त्यसमा हामी सन्तुष्ट छौं,’ पण्डितले भने, ‘हामी असन्तुष्ट हुन्थ्यौं त बजारमा तरलता प्रबाह गर्ने थियौं ।’


पुष्प दुलाल