चीनले भन्यो- भूकम्पले बन्द भएको तातोपानी नाका खोल्न आतुर छौं



सिन्धुपाल्चोक । भूकम्पको कारण देखाउँदै लामो समयदेखि बन्द भएको तातोपानी नाका खुलाउन चीन सकारात्मक भएको छ । मंगलबार  दुवै देशका सुरक्षा अधिकारीबीच खाशामा भएको सीमा सुरक्षा बैठकमा चीन सकारात्मक देखिएको हो ।

तिब्बतका सुरक्षा प्रमुख गाओ वान हाइको नेतृत्वमा आएको चिनियाँ टोलीले नाका खोल्न आफुहरु आतुर रहेको बताएको प्रमुख जिल्ला अधिकारी अन्तर बहादुर सिलवालले बताए ।

‘भुकम्पका कारण मितेरी पुलदेखि खाशासम्मको बाटो क्षतविक्षत भएको र त्यसको पुर्ननिर्माणको अवस्था तीव्र भएको देख्दापनि चीन नाका खोल्न आतुर रहेको देखिन्छ,’ सिलवालले भने ।

मितेरी पुलपारी र मितेरी पुलवारि लिपिगंलेखि दशकिलोसम्मको सडक मर्मत कार्यलाई चीनले तीव्रताका साथ सञ्चालन गरिरहेको छ । चीनियाँ पक्ष नाका खोल्न तयार देखिएपनि नाका सञ्चालनपछि हुने फ्रि तिब्बतको गतिबिधिलाई भने कडाई गर्नुपर्ने चीनियाँ अधिकारीहरुले माग गरेका छन् ।

सबै सुरक्षा निकायहरुलाई परिचालन गरी यस्ता गतिविधि हुन नदिने प्रतिबद्धता चीनियाँ टोलीलाई व्यक्त गरेको सिलवालले बताए ।

नाका सञ्चालन नहुदा व्यापारीहरुले केरुगं र भारतीय बाटो भएर व्यापार गर्नुपर्दा झन्झट बेहोर्नु परेको व्यवसायीहरुले बताएका छन् । तातोपानी नाका बन्द हुँदा वार्षिक १२ अर्ब रुपैयाँको हाराहारीमा राजस्व गुम्दै आएको छ ।


पुष्प दुलाल