राष्ट्र बैंक भन्छ- ३ महिनाका लागि भारुको समस्या छैन



काठमाडौं । भारतीय रिवर्भ बैंक (आरबीआइ)ले नेपाललाई भारु नोट दिन आलटाल गरेपनि तत्कालका लागि नेपालमा भारुको कुनै समस्या नहुने राष्ट्र बैंकले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ठूला दर (५०० र १०००) का भारतीय नोटमा प्रतिबन्ध लगाएपछि भारतमै नोट व्यवस्थापन गर्न समस्या भएको भन्दै आरबीआईले पछिल्लो समय नेपाललाई साना दरका भारु नोटसमेट दिइरहेको छैन । जसको मारमा नेपालीहरु परेका छन् ।

उपचारका लागि भारत जानुपर्ने अवस्थामा पनि नेपालीहरुले चाहिएजति भारु नोट प्राप्त गर्न सकेका छैनन् ।

यद्यपि, अझै केही समय भारतले नोट उपलब्ध नगराए पनि नेपाललाई समस्या नपर्ने राष्ट्र बैंकको बैंकिङ कार्यालयका कार्यकारी निर्देशक जनक अधिकारी बताउँछन् ।

‘अहिले राष्ट्र बैंकसँग ३ अर्ब भारु सञ्चिति छ, जसले आगामी ३ महिनाको माग धान्छ,’ अधिकारीले क्लिकमाण्डूसँग भने, ‘तत्कालका लागि भारुको कुनै समस्या छैन ।’

सामान्य अवस्थामा राष्ट्र बैंकले दैनिक २ करोड भारु सटही गर्ने गरेपनि अहिले केही कडाई गरेर दैनिक १ करोड मात्रै साट्दै आएको उनले जानकारी दिए ।

केही समयअघि राष्ट्र बैंकले रिजर्व बैंक अफ इण्डिया (आरबीआइ) सँग भारु मागेको थियो । तर, आरबीआइले आगामी जनवरीमा मात्र जवाफ दिने बताएको कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए ।

‘आरबीआइले कति दरका कति बराबरका नोट कहिले दिने भनेर जनवरीमा मात्रै जवाफ पठाउँछु भनेको छ,’ अधिकारीले भने ।


पुष्प दुलाल