माथिल्लो तामाकोशीले उर्जा मन्त्रालयमा कार्यतालिका पेश गर्यो



 

काठमाण्डौ ।  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले उर्जा मन्त्रालयलाई आफ्नो एकिकृत कार्यतालिका  बुझाएको छ । पुष १ र २ गते  स्थलगत अवलोकनका लागि आयोजनास्थल पुगेका उर्जामन्त्री जनार्दशन शर्माले ३ दिनभित्र कार्यतालिका पेश गर्न निर्देशन दिएका थिए ।

सोही निर्देशन बमोजिम आयोजनाले मंगलबार आफ्नो कार्ययोजना बुझाएको हो ।

एउटै आयोजनामा भिन्न भिन्न कार्य गर्ने अधिकारीहरुले भिन्न कार्यतालिका प्रस्तुत गरेपछि विधुत चार्ज हुने अन्तिम दिन समेत तोकेर एउटै एकिकृत कार्यतालिका प्रस्तुत गर्न मन्त्रीले निर्देशन दिएका थिए । उक्त निर्देशानुसार आयोजनाका चारै पक्षहरको बैठक बसी निर्णय समेत पेश भएको छ ।

पेश गरिएको संसोधित कार्यतालिका अनुसार ३० जुन, २०१८ सम्ममा टनेलमा पानी भर्नु पर्ने छ भने १५ जुलाई, २०१८ सम्ममा पहिलो युनिट संचालन सुरु हुनेछ ।

बाँकी ५ ओटा युनिटहरु पनि १२ डिसेम्बर, २०१८ भित्र संचालनमा आइसक्ने छन् । साथै लट १ को सिभिल ठेकेदारले आगामी जनवरी २०१७ भित्र संसोधित कार्यतालिकालाई अन्तिम रुप दिई सक्नेछ ।

भिन्न ठेकेदारहरु को कामलाई समायोजित तरिका बाट अगाडी बढाउन प्रत्यक दिन बिहान ८:३० बजे परामर्शदाता सँग सबै ठेकेदारहरु ले बैठक गर्ने छन् । मुख्य सिभिल कार्य गर्न लट १ अन्तर्गत ठेकेदार सिनोहाइड्रो, हाइड्रोमेकानिकल कार्य गर्न लट २ अन्तर्गत टेक्सम्याको र इलेक्ट्रोमेकानिकल कार्य लट ३ अन्तर्गत एनड्रिज हाइड्रो रहेको छ भने परामर्शदाता नरकन्सल्ट रहेको छ ।

साथै तामाकोशी- खिम्ती प्रशारण लाइनमा निर्माण हुनुपर्ने १२७ ओटा टावर मध्य १०२ ओटाको फाउन्डेसन तयार भैसकेको र ६७ ओटाको निर्माण सम्पन्न भैसकेको छ । प्रशारण लाइन तथा सबस्टेसन तर्फको काम पनि सन् २०१७ भित्र सम्पन्न हुने भएको छ ।


क्लिकमान्डु