नेपालकै प्रधानमन्त्री, जसले देशलाई आर्थिक भार पर्‍यो भन्दै चुरोट छोडेका थिए



काठमाडौ । अहिलेका मन्त्री तथा प्रधानमन्त्रीहरु राज्यकोषको रकम उपयोग गर्न तँछाड-मछाड नै गर्छन् । शासकहरुले राज्यकोषको चरम उपभोग गरिरहेको हामीले देखिरहेकै छौं ।

गरिब जनताले खाई-नखाई तिरेको कर सामान्य रोग लाग्दा पनि राज्यकोषको पैसामा विदेशमा उपचार गर्न गएर होस् या अनावश्यकरुपमा विदेश भ्रमणमा गएर । या त करोडौं पर्ने गाडी चढेर नै किन नहोस् ।

गणतान्त्रिक मुलुकका नेताहरुको यस्तो व्यवहारले जनतालाई आजित बनाएको छ । नेताहरुमा देशप्रतिको इमानदारीता नहुँदा सार्वभौमसत्तासम्पन्न नेपालीहरुले यस्तो नियति भोग्नु परेको हो ।

तर, यो देशमा यस्ता पनि प्रधानमन्त्री थिए, जसले आफुले चुरोट खाँदा देशलाई आर्थिक भार पर्छ भन्दै चुरोट नै छाडिदिए ।

देशको अर्थतन्त्रलाई मायाँ गर्ने ती प्रधानमन्त्री हुन् पद्यम शमसेर । जहानीयाँ राणाकालका प्रधानमन्त्रीले यसरी देशको अर्थतन्त्रलाई मायाँ गरेका थिए भन्ने समाचार पढ्दा तपाई/हामीलाई अचम्म लाग्न सक्छ । किनभने तपाईं/हामीलाई राणाहरु शोषक र शामन्त थिए भनेर पढाइएको छ ।

प्रजातन्त्र आउनुभन्दा केही वर्षअघिका प्रधानमन्त्री रहेका उनले देशबासीका नाममा सम्बोधन गर्दै आफुले चुरोट छाडेको घोषणा गरेका थिए । त्यतिमात्रै होइन, उनले सबै देशबासीलाई चुरोट छाड्न अपिलसमेत गरेका थिए ।

चुरोट आयातको तथ्यांक हरेपछि उनले यस्तो घोषणा गरेका थिए । त्यसबेला नेपालले एक वर्षमा ५०/६० करोड रुपैयाँको चुरोट आयात गर्दै आएको थियो । चुरोट झिकाउँदा वर्षेनि ५०/६० विदेशिएको भन्दै उनले चुरोड छाडेको जनाएका थिए ।

‘म ५०–६० खिली चुरोट खान्थेँ । तर जब चुरोट झिकाउन वार्षिक ५०/६० लाख रुपैयाँ विदेशिएको तथ्यांकले मलाई छोयो तब मैले चुरोट खान छाडेको हुँ,’ देशबासीका नाममा गरेको सम्बोधनमा उनले भनेका थिए, ‘चुरोटको साटो तमाखु खान थालेको छ । जसले मलाई पूर्णरुपमा सन्तुष्ट बनाएको छ ।’

पद्यम शमसेरको यो घोषणामा असली राष्ट्रियता र उन्नत आर्थिक चेत भएको देखिन्छ । किनभने उनले आफूपनि विदेशबाट आयातित वस्तुको उपयोग घटाएर स्वदेशी उत्पादनको उपयोग गर्न थाले । र, जनतालाई पनि स्वदेशी उत्पादनको उपयोग गर्न अपिल गरे ।

तर, आफ्नो राजनीति स्वार्थ पूरा गर्न अहिलेका शासकहरु बन्द–हड्ताल गर्दा औद्योगिक वातावरण विग्रिएको छ । कयौं उद्योगहरु बन्द भएका छन् । उद्योग बन्द भएपछि विदेशबाट हुने आयात अचाक्ली बढेको छ । र, त्यस्तो आयात खाडीको तातो घाममा पसिना बगाएका गरिब नेपालीहरुले देशमा पठाएको रेमिटान्सले गरिएको हो ।

त्यस्ता शासक वर्गलाई पद्यम शमशेरको चुरोट छाड्ने घोषणा र आयातका भरमा अर्थतन्त्र चल्दैन भन्ने सन्देश गतिलो झापड होला कि ?


पुष्प दुलाल