जनता बैंक सीइओ लम्सालले बोर्ड मिटिङमै भने- राजिनामा दिन्छु



काठमाडौं । जनता बैंकको सञ्चालक समिति र उच्च व्यवस्थापनबीच विवाद चुलिएको छ । सञ्चालक समितिको बैठकमा सञ्चालकहरुले बैंकले राम्रो रिजल्ट देखाउन नसकेको भन्दै उच्च व्यवस्थापनको आलोचना गरेपछि बोर्ड बैठकमै सीइओ कुमार लम्सालले राजिनामा दन्छु भनेर घोषणा गरे ।

‘बैंकले राम्रो रिजल्ट दिन नसकेको भन्दै सञ्चालकहरुले व्यवस्थापनको खरो आलोचना गर्नुभयो,’ बैंकका एक सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘बोर्ड बैठकमै सीइओले राजिनामा दिन्छु भन्नुभएको छ । तर अहिलेसम्म बोर्डमा उहाँको औपचारिक राजिनामापत्र भने आएको छैन ।’

आइतबारको सञ्चालक समितिको बैठकमा सञ्चालक र सीइओहरुबीच राम्रै भनाभन भएको हो । सोमबार सीइओ लम्साल कार्यालय पनि गएका छैनन् ।

सीइओले राजिनामा दिन्छु भनेपछि आइतबार साँझ नै डेपुटी सीइओ पृथ्वी श्रेष्ठले राष्ट्र बैंकका अधिकारीहरुलाई सीइओ लम्सालको राजिनामा भरे/भोली नै आउने जानकारी गराउँदै आफुलाई सीइओ बनाउनका लागि लविङ गर्न थालिसकेका छन् ।

‘डेपुटी सीइओ श्रेष्ठले हिँजो साँझ फोन गरेर लम्सालको राजिनामा भरे भोलि नै आउँछ, अब मलाई सीइओ बनाउन हजुरहरुले सहयोग गर्नुपर्यो भनेका छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तर अहिलेसम्म राष्ट्र बैंकमा पनि लम्सालको राजिनामाबारे औपचारिक जानकारी आएको छैन ।’

तत्कालीन सीइओ डा. रमेश भट्टराईले राजिनामा दिएपछि सञ्चालक समितिले ०७२ जेठ ११ गतेदेखि कार्यभार सम्हाल्नेगरी लम्साललाई सीइओमा नियुक्ति गरेको थियो ।

लम्सालले यसअघि प्रभु बैंक र सानिमा बैंकमा सीइओ भएर काम गरिसकेका छन् । लम्सालसँग २६ वर्ष बैंकिङ गरेको अनुभव छ ।


पुष्प दुलाल