राम्रै चल्यो पश्मिना, बर्बाद भयो चामल उद्योग



काठमाडौं । भारतले लगाएको नाकाबन्दीको कारण उद्योगहरुको उपयोग क्षमता घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२/७३ को आर्थिक गतिविधी सम्बन्धी अध्ययन प्रतिवेदनमा गत वर्ष उद्योगहरु आफ्नो क्षमताको जम्मा ४८.२ मात्र प्रयोग गरेको देखिएको छ ।

आर्थिक वर्ष २०७१/७२ मा उद्योगहरुले आफ्नो क्षमताको ५२.७ प्रतिशत उपयोग गरेका थिए । नाकाबन्दीको कारण कच्चा पदार्थ आयातमा भएको समस्या तथा उद्योगहरु चल्न नसकेको कारण उद्योगहरुको क्षमता घटेको हो ।

‘लामो अवधीसम्म जारी बन्द हड्ताल तथा सीमा अवरोधका कारण अत्यावश्यक ईन्धन एवम् कच्चा पदार्थको आपूर्ति प्रभावित भएका कारण उद्योगहरुको क्षमता उपयोगमा ह्रास आएको हो, भूकम्पबाट केही उद्योग प्रतिष्ठानहरुमा समेत क्षति पुग्नुको साथै भूकम्प पश्चातका दिनहरुमा आम सर्वसाधारणले अत्यावश्यक वस्तुहरु बाहेक अन्य उत्पादनहरु खरीद गर्नमा कम रुची देखाएका कारण समेत समग्र मागमा कमी आई उद्योगहरुको क्षमता उपयोगमा प्रभाव परेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

गतवर्ष सबैभन्दा बढी क्षमता उपयोग गर्ने उद्योगहरुमा पश्मिना उद्योग (८८.० प्रतिशत), चाउचाउ उद्योग (८३.३० प्रतिशत) र बिजुलीको तार उत्पादन गर्ने उद्योग (७२.५६ प्रतिशत) रहेका छन् । त्यसैगरी, सबैभन्दा कम क्षमता उपयोग गर्ने उद्योगहरुमा चामल उद्योग (१३.६ प्रतिशत), फलामको रड उत्पादन गर्ने उद्योग (१९.८२ प्रतिशत) र हल्का पेय पदार्थ उत्पादन गर्ने उद्योग (२३.१६ प्रतिशत) रहेका छन् ।


क्लिकमान्डु