मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्ने काम तीव्र



खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक कालोपत्रको काम तीव्रगतिमा अगाडि बढाइएको छ । कच्ची अवस्थामा रहेका दुवै सडक प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा कालोपत्र गर्ने काम तीव्रगतिमा अगाडि बढाइएको हो ।
प्रधानमन्त्रीको ठाडो निर्देशनपछि अहिले दुवै सडकको कालोपत्र गर्ने काम तीव्रगतिमा अगाडि बढेको हो ।

अहिले दुवै सडक फराकिलो पार्ने, ग्राभियन वाल भर्ने, ग्राभेलिङ तथा रोलिङ गर्ने लगायतका काम तीव्रगतिमा भइरहेको ठेकेदारहरुले बताएका छन् । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता गरिएका दुवै सडक कालोपत्रको काम ठेकेदार कम्पनीको लापरबाहीले गति लिन नसकेको सबैतिरबाट जनगुनासो आएपछि प्रधानमन्त्री प्रचण्ड आफँै निरीक्षण तथा अनुगमनका लागि खोटाङ पुगेका थिए ।

यो सडक एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा निर्माण भइरहेको छ । पछिल्लो समय दुवै सडकको कालोपत्र गर्ने कामले गति पाएपछि अहिले जिल्लामा यातायात सञ्चालन गर्नसमेत सहज भएको यातायात व्यवसायी सङघ, खोटाङका सचिव रामकुमार हिङ्माङले बताउँछन् ।

दिक्तेलदेखि चखेवासम्मको करिब ४६ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा गोल्डेन गुड प्रालिले लिएको छ । छिमेकी जिल्ला भोजपुरसँग सिधा यातायात जोड्ने सडक करिब रु एक अर्बको लगानीमा कालोपत्र सम्पन्न हुने आयोजनाका इन्जिनियर युवराज पाण्डेले जानकारी दिए ।

करिब दश वर्षअघि देखि यातायात सञ्चालन भएको मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक कालोपत्र नहुँदा हिउँदमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । पछिल्लो समय दुवै सडकमा कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेपछि जिल्लावासी हर्षित भएका छन् । रासस


क्लिकमान्डु