७० वर्षदेखि अमेरिकी राष्ट्रपतिले लगाउँदै आएको घडी धरापमा !



काठमाडौं । धेरै कमलाई थाहा भएको एक अमेरिकी परम्परा धरापमा परेको छ । पुर्वराष्ट्रपति ह्यारी ट्रम्यानले भल्क्यन क्रिकेट कम्पनीको घडी लगाएपछि वितेका ७० वर्षदेखि अमेरिकी राष्ट्रपतिहरुले एउटै ब्राण्डको घडी लगाउँदै आएका छन् ।

अमेरिकामा राष्ट्रपति भएपछि सोही ब्राण्डको उही मोडल लगाएर खुसीयाली मनाउने परम्परा बसेको थियो ।

विश्वविख्यात अनलाइन ब्लुम्बर्गका अनुसार यो भल्क्यन क्रिकेट कम्पनीको मेकानिकल घडी सन् १९४७ मा बनेको थियो । कम्पनीका अनुसार क्रिकेट किराको जस्तै आवाज निस्कने अर्लामका कारण राष्ट्रपतिका सुरक्षा दस्ता विगतमा बम भनेर झुक्किएकासमेत थिए ।

यस कम्पनीका केही मोडल अहिले करिब २० हजारअमेरिकी डलर अर्थात् २० लाख नेपाली रुपैयाँ बराबर पर्छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ पठाउने घडीको मोडल भने अहिलेसम्म यकिन भइनसकेको कम्पनीले जनाएको छ ।

ब्लुम्वर्गका अनुसार ट्रम्पले उनको भागको घडी पाएपनि यो परम्परा भने धरापमा पर्ने देखिएको छ । सो ब्राण्डको घडी उत्पादनक कम्पनी स्वीस घडी उद्योग धाराशाही भइरहेको छ ।

हाल विश्वब्यापीरुपमा आएको मागको कमी र ग्राहकहरुको रुचिमा समेत आइरहेको परिवर्तनका कारण स्वीस घडी उद्योग समस्यामा पर्दै गएको छ । त्यस्ता महंगा घडी उत्पादन गर्ने कम्पनीले १२ जनाबाट घटाएर आफ्नो कर्मचारी संख्या ५ बनाउन बाध्य भएको जनाएको छ ।

‘हामी सानो कम्पनी हौं र ठुलो नाम भएका कम्पनीसँगको प्रतिसपर्धामा संघर्ष गरिरहेका छौ,’ कम्पनीकासेल्स र मार्केटिङ प्रमुख ड्यानियल वेस्लरले भने ।


पुष्प दुलाल