नाट्टाको ५०औं स्वर्ण महोत्सव, पर्यटन प्रर्वधनमा जोड




काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को स्थापनाको पचास वर्ष पुगेको अवसरमा पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव मनाइएको छ । नेपालको पर्यटनःराष्ट्रिय प्राथमिकताको उद्योग भन्ने नाराका साथ मनाइएको सो कार्यक्रममा विदेशबाट आएका ट्राभल तथा टुर व्यवसायी, पर्यटनविद्बीच पर्यटन बजार प्रवद्र्धनका लागि गोलमेच बैठक, पुरस्कार वितरणलगायतका कार्यक्रमको आयोजना गरिएको थियो ।

सो कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले मुलुकको समृद्धिमा पर्यटन क्षेत्रको ठूलो योगदान रहेको बताए । ‘नपढेकाले हलो जोत्न छोडेको र पढेकाले थलो छाडेको अवस्थामा पर्यटन क्षेत्रको विकास गर्न चुनौती थपिएको छ ।’ उनको दाबी थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्र बानियाले पर्यटन क्षेत्रको राम्रो सम्भावना रहेको बताउँदै त्यसको विकासका लागि व्यवसायी तथा विज्ञसँग सुझाव लिएर नीति बनाउनुपर्नेमा जोड दिए ।

पूर्व पर्यटनमन्त्री प्रदीप ज्ञवालीले देशको अर्थतन्त्रलाई बलियो बनाउनका लागि पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै पर्यटनको विकासका लागि भौतिक संरचना तथा पूर्वाधारका साथै विमानस्थलको पनि विकास गर्न खाँचो रहेको औँल्याए ।

नाट्टाका उपाध्यक्ष सिएन पाण्डेले पर्यटन क्षेत्रको प्रचार प्रसारका लागि विश्वव्यापी रुपमा प्रयास भइरहेको जानकारी दिए ।

कार्यक्रममा यस वर्षको सगरमाथा अवार्ड पुराना पर्यटन व्यवसायी टेकचन्द्र पोखरेल तथा भाष्कर अवार्ड सुदर्शन ढकाललाई प्रदान गरिएको थियो । करिब एक हजार ट्राभल टुर व्यवसायीको छाता संगठनको रुपमा रहेको नाट्टा सन् १९६६ मा स्थापना भएको हो ।

त्यस्तै पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याउने उद्योगी, व्यवसायी तथा नाट्टाका पूर्व अध्यक्षलाई समेत सम्मान गरिएको थियो । केही सञ्चारकर्मी तथा सञ्चार संस्थालाई समेत पुरस्कार प्रदान गरिएको थियो । रासस


क्लिकमान्डु