सुरुङमार्ग बनाउने कम्पनीका अध्यक्ष भट्टको राजिनामा स्वीकृत, लालकृष्ण केसी नयाँ अध्यक्ष



bhawan-bhatकाठमाडौं । काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाउने कम्पनी नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष भवन भट्टले दिएको राजिनामा स्वीकृत भएको छ ।

अध्यक्ष पदबाट राजिनामा दिएर भट्ट अमेरिका गएका थिए । अहिले पनि उनी अमेरिकामै छन् । तर बिहिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भट्टको राजिनामा स्वीकृत गरेको हो । सञ्चालक समितिको बैठकले कम्पनीको नयाँ अध्यक्षमा लालकृष्ण केसीलाई नियुक्ति गरिसेको छ ।

०७२ माघ २८ गते भट्ट कम्पनीको अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित हुनेवित्तिकै उनले विदेशी लगानी र प्रविधि भित्र्याएर सुरुङमार्ग बनाएरै छाड्ने बताएका थिए ।

तर, उनी अध्यक्ष निर्वाचित भएको १० महिना वित्दा पनि सुरुङमार्ग निर्माणको कामले गति लिएको छैन । काम अघि नबढेपछि सञ्चालक समितिभित्रै उनको कडा आलोचना हुन थालेको थियो ।

सञ्चालकहरुको तीब्र विरोधपछि गत वर्ष कम्पनीका अध्यक्ष कुशकुमार जोशीले राजिनामा दिएका थिए । जोशीपछि भट्टले कम्पनीको नेतृत्व सम्हालेका हुन् ।

निर्माण प्रक्रियामा जानु अघि नै कम्पनीको नेतृत्व पटक–पटक परिवर्तन हुनुले सुरुङमार्ग बन्नेमा शंका उत्पन्न भएको छ । यो कम्पनीले सरकारले तोकेको समयमा सुरुङमार्ग बनाउन आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन सकेको छैन ।


क्लिकमान्डु