तीन महिनाका लागि बन्द भयो भोजपुर विमानस्थल, स्तरोन्नति हुँदै
भोजपुर । भोजपुरको एक मात्र टक्सार विमानस्थल स्तरोन्नतिको काम सुरु भएसँगै हवाई उडान बन्द भएको छ । भूकम्प, नाकाबन्दी र बर्षाले रोकिएको काम आजदेखि सुरु हुने भएकाले हवाई उडान तीन महिनाका लागि बन्द हुने विमानस्थल प्रमुख दुर्गामणि चौधरीले जानकारी दिए ।
कालोपत्रेको कामका लागि ४० भन्दा बढी कामदार र इन्जिनियर काममा खटाइसकिएको छ भने आवश्यक निर्माण सामग्रीसमेत जुटाइसकिएको छ । विसं २०३६ देखि सञ्चालनमा आएको यस विमानस्थल स्तरोन्नति र कालोपत्रको काम ३ वर्षअगावै ०७१ असारमा सुरु भएको थियो ।
पाँचसय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको विमानस्थल आगामी फागुन २५ गतेसम्मका लागि बन्द हुन लागेको हो । कालिका प्यासिफिक जेभी कन्सट्रक्सनले रु पाँच करोड २१ लाखमा निर्माणको जिम्मेवारी लिएको छ । चाँडै कालोपत्र सकिने र नियमित उडान हुने अपेक्षा स्थानीयवासीले गरेका छन् ।