तीन महिनामै नेपाल टेलिकमले सवा चार अर्ब कमायो



ntc३० कात्तिक, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा ४ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ८३ करोड रुपैयाँ अर्थात २५ प्रतिशतले बढी हो ।

नाफामा उच्च बृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी ११०.४८ रुपैयाँ पुगेको छ। गत बर्ष यो ८८ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ५९८ रुपैयाँ छ । कम्पनीको अहिलेको प्रतिकित्ता सेयरमूल्य ६७६ रुपैयाँ छ ।

कम्पनीले मंगलबार प्रकाशित गरेको असोज मसान्तसम्मको वित्तीय बिबरण अनुसार कूल आम्दानी ११ अर्ब ३६ करोड रुपैयाँ छ । गत वर्षको यसै अवधिमा १० अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

तीन महिनामा कम्पनीले सञ्चालन तथा मर्मत संभारमा १ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेको छ । नाफा ८३ करोड रुपैयाँले बढेको तर खर्च ४० करोड रुपैयाँले घटेपछि कम्पनीको नाफा उच्च दरमा वृद्धि भएको हो ।

कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ भने ७४ अर्ब ५४ करोड रुपैयाँ रिजर्भ छ ।


दिलु कार्की