गुगलको भरमा टर्की र हाँस पालन, आम्दानी मनग्य



turkey

पाल्पा । पाल्पा रुप्से ४, खसाडीका ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी राम्रो आम्दानी लिन सफल भएका छन् ।

हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपनि इन्टरनेटको सहयोगमा पाण्डेयले व्यावसायिक रुपमा हाँस र टर्की पालनसम्बन्धी अध्ययन गरेर मासिक रु ५० हजार आम्दानी गर्न सफल भएका हुन् । सर्च इन्जिन गुगललै भरमा  हाँस र टर्की पालन गर्ने तरिका सिक्न पाण्डेयले करिब एकवर्षदेखि इन्टरनेट प्रयोग गरिरहका छन् ।

एक बिगाहा क्षेत्रफलमा हाँस तथा टर्कीको फार्म सञ्चालन गरेका पाण्डेय पहाडी जिल्ला पाल्पामा समेत हाँस र टर्की पालन व्यवसायमा सफल बन्दै यस क्षेत्रकै नमुना बनेका छन् ।

एक वर्षअघिदेखि टर्की र हाँस पालन सुरु गरेका पाण्डेयले गुगलको सहयोग लिएर एक हजार ५०० हाँसको रेखदेख र २०० टर्कीको चल्ला हुर्काउन सफल भएपछि उनमा थप उत्साह थपिएको छ ।

पाण्डेयले नयाँ नयाँ जातका कुखुराको अध्ययन पनि गरिरहेका छन् । पचास वटा टर्की हुर्काएर प्रतिकिलो रु ९०० देखि रु एक हजार २०० मा घरबाट नै बिक्री हुँदै आएको छ । टर्कीको मासुको खपत सहज रुपमा हुने र पोखरा, बुटवल, काठमाडौँमा बिक्री हुने गरेको उनी बताउँछन् ।

सुरुमा टर्कीको चल्ला फ्रान्सबाट ल्याएर व्यवसाय सञ्चालन गरेका पाण्डेय अहिले पोखराबाट टर्कीको चल्ला ल्याउन पाउँदा खुसी छन् । १२ कक्षा सम्मको अध्ययन गरेका पाण्डेय व्यावसायिक पक्षी फार्मको विकास गर्ने लक्ष्य लिएको बताउँछन् ।


क्लिकमान्डु