डाटा सेवामा केन्द्रित हुन्छु: नयाँ टेलिकम प्रमुख



kamini_rajbhandari

काठमाडौं । बिहीवार नियुक्त भएकी नेपाल टेलिकमकी प्रमुखले टेलिकम अब डाटा सेवामा केन्द्रित हुने संकेत गरेकी छिन् । आइतवार पदभार सम्हाल्दै  प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले आफू एकै स्थानबाट ग्राहकलाई सबै सेवा उपलब्ध गराउन र सेवाको गुणस्तर सुधारमा केन्द्रित हुने बताएकी छिन् ।

खुला प्रतिस्पर्धाबाट तीन वर्षका लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी राजभण्डारी यस अघि नेपाल टेलिकमकै प्रमुख प्राविधिक अधिकृत पदमा कार्यरत थिइन् । उनी नेपाल टेलिकमको इतिहासमै पहिलो महिला प्रबन्ध निर्देशक बनेकी हुन् ।

टेलिकमको सेवा विस्तार, चालु आयोजनाहरु यथासमयमा सम्पन्न गर्ने तथा मर्मत सम्भारको कार्य स्तरीय बनाउने प्रतिबद्धता उनले गरिन ।

भारतको चण्डिगढस्थित पञ्जाव इञ्जिनियरिङ कलेजबाट सन् १९८५ मा इलेक्ट्रोनिक्स तथा इलेक्टि्रकल कम्युनिकेसन इञ्जिनियरिङमा स्नातक र थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन् २००१ मा एमबीए गरेकी गरेकी राजभण्डारी २०४२ असोज १ गते इञ्जिनियरको रुपमा टेलिकममा सेवा सुरू गरेकी थिइन् ।

उनीसँग फिक्स्ड नेटवर्क प्लानिङ र प्रोजेक्ट तथा जीएसएम प्लानिङ, प्रोजेक्ट र कोर अपरेसनसम्बन्धी कामको लामो अनुभव छ । नेपाल इञ्जिनियर्स एसोसिएसनले उनलाई २०७३ श्रावणमा ‘आउटस्ट्यान्डिङ वुमन इञ्जिनियर अफ द इयर’ बाट सम्मानित गरेको थियो ।


क्लिकमान्डु