टेलिकम प्रमुखको टुङ्गो अर्को साता लाग्ने



ntc

काठमाडौं । नेपाल टेलिकमले नयाँ प्रबन्ध निर्देशक पाउन अर्को सातासम्म कुर्नु पर्ने भएको छ । मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी विगत २ सातादेखि प्रमुख विहीन छ ।

सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको नेतृत्वमा गठन भएको सिफारिस समितिले यो साताको अन्त्यसम्ममा तीन जनाको नाम मन्त्रिपरिषदमा पठाउने तयारी गरेको छ । ‘मन्त्रिपरिषदबाट सम्भवतः अर्को साता निर्णय होला’ सचिव थपलियाले क्लिकमाण्डुलाई भने ।

सिफारिस समितिले छनौटको काम असारबाटै थाले पनि बीचमा सरकार परिवर्तन लगायतका कारणले निर्णयमा ढिलाई भएको हो । योग्यता तोकेर नयाँ प्रबन्ध निर्देशकका लागि समितिले आवेदन मागेको थियो । टेलिकम भित्र र बाहिर गरी १३ जनाले आवेदन दिएका थिए ।

अन्तर्वार्ता मङ्गलबार

आवेदक मध्येबाट ६ जना सर्ट लिस्टिङ गरिसकेको समितिले मङ्गलबारका लागि अन्तर्वार्ताको तयारी गरेको छ । अन्तर्वार्ताबाट ३ जना छनौट हुने छन् । ३ जना मध्ये कसलाई प्रबन्ध निर्देशक नियुक्त गर्ने भन्ने चाही मन्त्रिपरिषदको निर्णयमा भर पर्ने छ ।

को को छन् प्रतिस्पर्धी ?

सर्ट लिस्टेड भएका ६ जनामा नेपाल वायु सेवा निगमका पूर्व महाप्रबन्धक मदन खरेल मात्र टेलिकम बाहिरबाट छन् । टेलिकमका नायव प्रबन्ध निर्देशक कामिनी राजभण्डारी सहित रवीन्द्र झा,  बटुक आनन्द वैद्य,  सुनीलकुमार पोखरेल र गुण केशरी प्रधान प्रतिस्पर्धाको दौडमा छन् ।


क्लिकमान्डु