आइओएस १० सार्वजनिक, यसरी गर्नुस् अपग्रेड




ios_10

काठमाडौं । आइफोन, आइप्याड र आइपोडको अपरेटिङ सिस्टम आइओएसको नयाँ संस्करण ‘ आइओएस १०’ मंगलबार सार्वजनिक भएको छ । गत जुनमै आयोजित विश्व डेभलपर कफ्रेन्समा एप्पलले आफ्नो आगामी आइओएस नयाँ फिचर सहित आउने जानकारी गराएको थियो । एप्पलका कार्यकारी प्रमुख टिम कुकले आईओएस १० अहिले सम्मकै सर्वाधिक परिस्कृत मोवाइल अपरेटिङ सिस्टम हुने दाबी गरे ।

आईओएस १० मा के छ ?

आइओएस १० मा आफ्नो मेसेजिङ एप ‘आइ म्यासेज’ लाई बिशेष ध्यान दिइएको छ । मल्टिमिडिया फिचर रहेको मेसेजिङमा स्टिकर, एनिमेसन र इमोजी कीबोर्ड राखिएको छ ।प्रयोगकर्ताले आफ्नो हस्त लिखित सन्देशलाई पनि पठाउन सक्नेछन् । नदेखिने मसीको प्रयोग गरेर सन्देश पठाउन समेत सकिन्छ । त्यसलाई प्रापकले स्क्रीन स्विप गरेर पढ्न सक्छन् ।

च्याटमा समयको बचत गराउन ट्याप ब्याक फिचर पनि राखिएको छ । जसमा इमोजीको प्रयोगमार्फत् कुराकानीलाई छरितो बनाउन सकिन्छ । इनबिल्ट म्याप्समा पनि व्यापक परिवर्तन गरिएको छ । एप्पलले गुगल म्यापसँग प्रतिस्पर्धा गर्न सन् २०१२ मा पहिलो पटक ल्याएको यो एपमा यसपटक प्रयोगकर्ताले ससाना पसल देखि ग्यास स्टेसनसम्मको जानकारी पाउन सक्नेछन् ।

पुराना फोटोहरुलाई फेसबुकले झैं पूनः संझनामा ल्याउने छ भने पुराना फोटोहरूलाई मिलाएर स्लाइड शो मार्फत् मुभी पनि बनाउन सकिन्छ ।  एप्पलले आफ्नो सिरी भ्वाइस रेकर्डिङ सफ्टवेयरलाई थर्ड पार्टीले पनि प्रयोग गर्न सकिने किसिमले बनाएको छ । जसको कारण आईओएस १० का धेरै एप्सहरूले सिरीलाई सर्पोट गर्ने छ । आईओएस १० ले प्रयोगकर्तालाई नचाहिने एप्सहरुलाई मेट्ने सुविधा पनि दिएको छ ।

तपाईँको मोबाइलमा काम गर्छ ?

आइओएस १० पछिल्ला केही भर्सनका एप्पलका प्रडक्टहरूमा मात्र कम्पाटिबल छ । आइफोन ५ देखि माथिका सँस्करणहरूमा काम गर्नेछ । आइप्याडमा फोर्थ जेनेरेसन, आईप्याड एयर, आईप्याड मिनि २, आईप्याड प्रोको ९ दशमलब ७ इन्च भन्दा माथिका लागि मात्र सर्पोट गर्ने जनाइएको छ । यो सफ्टवेयरले आईपोड टचको सिक्थ जेनेरेसनमा मात्र अपग्रेड हुने एप्पलले जनाएको छ ।

कसरी अपग्रेड गर्ने?

आईओएस १० सार्वजनिक हुने बित्तिकै यसका प्रयोगकर्ताहरूले आ-आफ्नो ग्याजेटमा जानकारी प्राप्त गर्नेछन् । एप्पलका प्रयोगकर्ताले वाईफाई वा इन्टरनेट प्लगइन मार्फत् डाउनलोड गर्न सक्नेछन् । तर अपडेट गर्नु भन्दा अगाडी आफ्नो मोवाइलको ब्याट्री सकभर फुल राखेर मात्र गर्नुहोला ।

आफ्नो डिभाइसको सेटिङ्समा गएर General>Software Update > Download and Install गर्नुपर्छ ।

अपग्रेड अगाडी के ख्याल गर्ने?

कुनै पनि महत्वपूर्ण सफ्टवेयर अपडेट गर्नु भन्दा अगाडी आफ्नो डिभाइसमा भएका महत्वपूर्ण सामग्रीहरूको ब्याकअप गर्नुपर्छ । आफुले गरेको ब्याकअपलाई आफ्नो फोनमा वा आईट्युनको प्रयोग गरेर आई क्लाउडमा राख्नुपर्छ । यदी आईओएस १० मा केही समस्या आएमा प्रयोगकर्ताले आफुले सुरक्षित राखेको डाटालाई रिस्टोर गर्न सजिलो हुन्छ ।

आईओएस १० आफ्नो डिभाइसमा इन्स्टल गर्नु भन्दा अगाडी आफ्नो एप्पल आईडी र लगइनको वारेमा पूर्ण जानकार हुनुपर्छ ।


क्लिकमान्डु