‘इन्टरनेट चलाउने जनसङ्ख्या पन्ध्र प्रतिशत मात्र’



digambar_jha

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कले भन्छ नेपालमा इन्टरनेट पहुँच ५१.१० प्रतिशत पुगेको छ । तर, प्राधिकरणकै अध्यक्ष दिगम्बर झा भन्छन् – ‘त्यो तथ्य हैन । सक्रिय प्रयोगकर्ता १५-१६ प्रतिशत पनि नाघेको छैन् ।’

सूचना प्रविधिमा विकास जे जति भएको छ त्यो काठमाडौं केन्द्रित छ । यसमा ‘सिस्टमेटिक विकास’ हुन सकेन – राजधानीमा जारी ४ दिने सूचना प्रविधि मेलाको उद्‍घाटन सत्रमा बोल्दै झा ले भने । इन्टरनेट कनेक्सन पुर्‍याएर मात्र हुदैन, त्यसको प्रयोग पनि हुनु पर्‍यो भन्दै उनले आइटी शिक्षालाई अगाडि बडाउनु पर्नेमा जोड दिए ।

‘पूर्व पश्चिम राजमार्गमा ३ वटा सेवा प्रदायकका अप्टिक फाइबर बिच्छाइएका छन् । तर, कतिपय जिल्ला जोड्ने राजमार्गमा एउटा पनि छैन् ।’ सेवा प्रदायकहरू सुगम र सहरी क्षेत्रामा मात्र केन्द्रित भएको भन्दै यसलाई बिस्तार गर्न प्राधिकरणले नयाँ योजना बनाएको झाले जानकारी दिए ।

मध्यपहाडमा छिट्टै अप्टिक फाइबर

ग्रामीण दुरसञ्चार कोषको रकमबाट मध्य पहाडमा अप्टिकल फाइबर बिच्छयाउने मुख्य जिम्मेवारी प्राधिकरणले नेपाल टेलिकमलाई दिएको छ । प्राधिकरण र टेलिकमबीच चार अर्ब २० करोड रूपैयाँमा पाँचथरदेखि धादिङसम्मको मध्य पहाडी लोकमार्गमा अप्टिक फाइबर बिच्छाउने सहमति हालै मात्र भएको छ ।

गोर्खादेखि रूकुमसम्म र रूकुमदेखि दार्चुलासम्मका छुट्टा छुट्टै प्याकेजमा आसपासका जिल्ला सदरमुकाम र नगरपालिका जोड्ने तयारी रहेको झाले बताए ।

चीन र बंगलादेशबाट पनि छिट्टै इन्टरनेट ब्यान्डउइथ ल्याएर भारतसँगको पर निर्भरता तोड्ने तयारीमा प्राधिकरण रहेको झाले जानकारी दिए ।


क्लिकमान्डु