समयमै सडक नबनाउने १९ ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा




काठमाडौं । तोकिएको समयमा लिइएको जिम्मेवारी पूरा नगरेको भन्दै सरकारले १९ ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभाग संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरिले १९ परियोजना अलपत्र पारेको र तोकिएअनुसारको काम नगरेको पाइएपछि त्यस्तो चेतावनी दिएको हो ।

पटक–पटक लिएको जिम्मेवारी र ठेक्का सम्झौता अनुसार काम गर्न ताकेता गरे पनि विभिन्न बाहनाबाजी गर्दै पन्छने गरेको पाइएपछि मन्त्रालयले त्यस्तो चेतावनी दिएको हो ।

सार्वजनिक खरिद ऐन २०६३ तथा सर्वाजनिक खरिद नियमावली २०६४ र ठेक्का सम्झौतामा उल्लेखित प्रावधान अनुसार ती ठेकेदार कम्पनीलाई ७ दिनभित्र चित्त बुझ्दो स्पष्टिकरण नदिए कानून अनुसार कारबाही गर्ने भएको हो ।

ती कम्पनीलाई किन कारबाही नगर्ने र कारबाही अगाडि बढाउनु नपर्ने मनासिव कारण के हो भन्दै सार्वजनिक सूचनामार्फत् आग्रह गरेको छ । ७ दिनभित्र मनासिव कारण सहित स्पष्टिकरण पेश गर्न र चित्त बुझ्दो स्पष्टिकरण नआए कानून अनुसार कारबाही हुने जनाइएको छ ।


क्लिकमान्डु