१६ % योगदान कटाएर विकसित घडेरी फिर्ता हुने



काठमाडौं । चमती जग्गा एकीकरण आयोजनाभित्र ११ मिटर र १४ मिटर सडकको बिबाद टुङ्ग्याउँदै जग्गा व्यवस्थापन उपसमितिले १६ प्रतिशत योगदान कटाएर बिकसित घडेरी फिर्ता दिने निर्णय गरेको छ ।

उपसमितिका संयोजक एवं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णय बनस्थलीबाट भगवानपाउ हुँदै बिजेश्वरीसम्म पुग्ने सडकसँग जोडिएका कित्ता, बालाजु ‘१ क’ र ‘ख’ तथा स्वयम्भू डल्लु ‘९ ख’ क्षेत्रका लागि हो ।

जग्गा बिकास हुने स्थानमा साबिक नगर बिकास समितिले निर्देशित जग्गा बिकास क्षेत्रमा १४ मिटर सडक कायम गरेको थियो । पछि जग्गाको बिस्तृत परियोजना प्रतिवेदन तयार पार्दा १४ मिटरको सडकलाई ११ मिटर बनाएर आयोजना तयार पारियो । यसै प्रतिवेदनका आधारमा काम थालिएपछि सडकको मापदण्ड ११ मिटर कि १४ मिटर भनेर बिवाद शुरु भएको थियो ।

यो बिवाद सुल्झाउन गत भदौ २६ गते महानगरको १५ वडाका अध्यक्ष ईश्वरमान डंगोलको संयोजकत्वमा ‘चमती जग्गा एकीकरण आयोजना ठोस नीति तथा कार्ययोजना कार्यदल’ गठन भएको थियो । त्यही कार्यदलले दिएको प्रतिवेदनलाई आधार मानेर उपसमितिले १६ प्रतिशत योगदान लिएर बिकसित घडेरी फिर्ता दिने निर्णय गरेको हो । कार्यदलले स्थानीयबासीको माग सुन्न गत फागनु २९ गते जग्गाधनी र मोहीको भेला नै बोलाएको थियो ।

आयोजना क्षेत्रभित्र मुल्य समायोजनको कुरा पनि उठेको छ । आयोजना शुरु भएको समयदेखि अहिलेसम्म बजारमा मुल्यको धेरै उतारचढाव भएकोले यो समस्याको समाधान खोज्न त्यही बैठक भदौ २६को बैठकले १६ वडाका अध्यक्ष मुकुन्द रिजालको संयोजकत्वमा ‘चमती जग्गा एकीकरण आयोजना मुल्य पुनरावलोकन कार्यदल’ समेत गठन गरेको थियो । यस कार्यदलको प्रतिवेदन आउँदो बैठकमा पेश हुने भएको छ ।

आयोजना क्षेत्रमा १ मिटर सडक बराबर ३.३५ प्रतिशत जग्गा योगदान वापत् लिने गरिएको छ । ६ मिटर सडक पहिले नै थियो । त्यसमा ८ मिटर सडक थपेर १४ मिटर बनाइयो । यसरी थपिएको ८ मिटरमध्ये ४ मिटर आयोजनाभित्रबाट र ४ मिटर आयोजना बाहिरबाट लिइएको थियो । यसरी कायम गरिएको १४ मिटर सडकसँग जोडिएका कित्ताको पूर्वाधारवापत् लिने गरिएको ५ प्रतिशत योगदान नलिने, सडकवापत्को १३.४ प्रतिशत, खुल्ला क्षेत्रवापत्को २.५ प्रतिशत गरी हुन आउने १५.९० प्रतिशतलाई १६ प्रतिशत कायम गरेर योगदान लिने निर्णय भएको हो ।

बैठकमा महानगरका प्रमुख शाक्यले आयोजनालाई अनिर्णयको बन्दी बनाउन नहुने बताए । यो परियोजनाबाट अहिलेसमम पीडा भोगेका जनताले अबको निर्णयबाट लाभ महसुस गर्नुपर्छ । ‘म सबैलाई यतातर्फ सचेत हुन आग्रह गर्छु’, शाक्यले भने ‘अहिलेसम्मको अबस्था हेर्दा आयोजना बिफल हुनबाट बचाउनमा हाम्रो ध्यान जान जरुरी छ ।’


क्लिकमान्डु