सेयर लगानीकर्ताले अर्थमन्त्री डा. खतिवडासँग राखे यस्तो माग
काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई सेयर बजारको ज्ञान भएको दक्ष व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्न आग्रह गरेका छन् ।
नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । पूँजीबजारको विकास र बिस्तारका लागि रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्षमा पूँजीबजार सम्बन्धी अध्ययन गरेका, अनुभवि, योग्य, प्राविधिक ज्ञान र शिपयुक्त व्यक्ति नियूक्त गरी बजारको यावत समस्याहरु समाधान गर्न आग्रह गरेका छन् ।
सरकार, अर्थमन्त्री तथा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै आएको र बिगत केहि समयदेखी सेयर बजारमा देखिएका समस्या समाधानको लागि तत्काल बोर्डमा अध्यक्ष आवश्यक भएको लगानीकर्ताको ठहर रहेको छ ।
जारी विज्ञप्तिमा अबका दिनमा आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा देश प्रवेश गर्ने सरकारको उद्घोषले निकै उत्साहित भएका लगानीकर्ताहरुमा अर्थतन्त्रको ऐनाको रुपमा रहेको सेयर बजार निरन्तर घटिरहनु र लगानीकर्ताहरुको अर्बाैको सम्पती गुमिसकेको उल्लेख छ । यो बेलामा जिम्मेवार निकायहरु बेखबर गैर जिम्मेवार बन्दा लगानीकर्ताहरुलाई मर्माहित र स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ ।