काम खोज्दै विदेश जानेको संख्या बढेपनि विप्रेषण आप्रवाह ०.३ प्रतिशतले घट्यो



काठमाडौं । भदौ महिनामा विप्रेषण आयात घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौको तथ्याङक अनुसार भदौ महिनामा विप्रेषण आप्रवाह ०.३ प्रतिशतले घटेर १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँमा सिमित भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २२.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ०.८ प्रतिशतले वृद्धि भई १ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३४.१ प्रतिशतले बढेको थियो ।

यो अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.० प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.८ प्रतिशतले घटेको थियो ।


क्लिकमान्डु