एक वर्षमा ल्याइयो डेढ करोड तासका प्याकेट




काठमाडौं । दशैं र तिहार जस्ता चाड नजिक हुँदैछन् । दशैंको बिदामा मासुका अनेकन परिकार, मद्यमान गर्दै रमाइलो गर्ने त नेपाली परम्परा नै हो ।

पछिल्लो केही समययता दशैं तिहारको बिदामा घुम्न हिँड्ने क्रम बढे पनि दशैंमा मानिसहरु मासुका विभिन्न परिकार र रक्सीका स्वादमै रमाउन चाहने हुन्छन् ।

त्यतिमात्रै होइन, परम्परादेखि चलिआएको अर्को चलन हो दशैंमा तास । तास र जुवाको जगको परम्परा खोज्दै जाने हो भने महाभारतसम्म पुग्छ । जुवामा सबै सम्पत्ति हारेर कसरी पाण्डवहरुले वनवास जानु परेको थियो र कसरी महाभारतको युद्ध भयो त्यो हामी सबैले जानेकै विषय हो ।

जुवा, तास, रक्सीलाई हामीले परम्परामा नराम्रो मानिए पनि यो चलन भने समाजमै पूर्ण रुपमा निर्मूल भएको छैन । त्यसैले मानिसहरु दशैंमा तास खेल्न भनेपछि हुरुक्कै हुन्छन् ।

सरकारी तथ्यांक हेर्दा चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै नेपालमा झण्डै ३ करोड रुपैयाँको तास आयात भएको छ । एक महिनामा मात्रै २० लाख ७४ हजारभन्दा बढी तासका प्याकेटहरु आयात भएको देखिन्छ ।

यो त एक महिनाको अवधिमा मात्रै आयात भएको तथ्यांक हो ।

२०७५/७६ मा मात्रै १ करोड ५७ लाख २५ हजार ५२१ वटा तासका प्याकेट आयात भएका छन् । जसका लागि नेपालबाट २५ करोड ५६ लाख रुपैयाँभन्दा बढी विदेशिएको छ ।

त्यस्तै, २०७४/७५ मा १ करोड २१ लाख ४४ हजार ७३८ वटा तासका प्याकेट आयात भएका थिए । जसका लागि साढे १५ करोड रुपैयाँ बाहिरिएको थियो ।

त्यसको अघिल्लो वर्ष २०७३/७४ मा पनि नेपालमा १ करोड १६ लाख ४८ हजार तासका प्याकेट आयात भएका थिए । जसका लागि १५ करोड भन्दा बढी रुपैयाँ बाहिरिएको थियो ।


क्लिकमान्डु