जलविद्युत विकासका लागि हङ्गेरीले ११ अर्ब ऋण दिने



काठमाडौँ। हङ्गेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि (१०० मिलियन युरो) करिब ११ अर्ब २० करोड रुपैयाँ ऋण सहयोग एक प्रतिशत भन्दा कम ब्याजदरमा उपलब्ध गराउने भएको छ ।

हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तिले परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँगको भेटका क्रममा सो जानकारी दिएका हुन् । राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४ ‌औँं सत्रका लागि हाल जेनेभामा रहेका परराष्ट्रमन्त्री डा महत र हङ्गेरीका विदेशमन्त्री सिजार्तोबीच मङ्गलबार द्विपक्षीय वार्ता भएको थियो ।

सो वार्ताका क्रममा मन्त्री सिजार्तिले हङ्गेरी सरकारले प्रत्येक वर्ष दश नेपाली विद्यार्थीलाई हङ्गेरीका विश्व विद्यालयमा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय समेत गरेको जानकारी दिए ।

उक्त भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा कुराकानी भएको थियो । विदेशमन्त्री सिजार्ताेले नेपालले दिएको राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यको उम्मेदवारीको समर्थन गर्दै नेपाललाई भोट हाल्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

परराष्ट्रमन्त्री डा महत उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । उनले मङ्गलबार नै राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औँं सत्रलाई सम्बोधन गरेका थिए । बुधबार राष्ट्रसङ्घीय मानवअधिकार आयोगका उच्चायुक्तसँग भेटवार्ता गरी नेपालको मानवअधिकारको अवस्था तथा परिषद्मा नेपालको उम्मेदवारीका बारेमा छलफल गर्नेछन् । नेपालले सन् २०१८ देखि सन् २०२० सम्मका लागि राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको छ ।


क्लिकमान्डु