१२ वर्षपछि फेरि जापान उड्यो नेपाल एयरलाइन्स, ९० हजार छन् नेपाली



काठमाडौं । नेपाल एयरलाइन्सले १२ वर्षपछि फेरि जापानको ओसाकामा बिहीबारदेखि नियमित उडान सुरु गरेको छ ।
त्रिभुवन विमानस्थलमा राति उद्घाटन गरी साढे २ बजे विमान उडान गरिएको हो ।

जम्मा १३४ जना यात्रु बोकेर गरिएको उडानमा ८५ जना यात्रु तथा बाँकी निगम, मन्त्रालय तथा अन्य प्रतिनिधिहरु छन् ।
निगमले पहिलो पटक सिधा उडान गर्न लागेको हो ।

यसअघि सन् २००७ मा बन्द हुनु अगाडि नेपाल एयरलाइन्सले ओसाका जानका लागि काठमाडौं–चीन–ओसाका उडान गर्दै आएको थियो ।

तत्कालिन समयमा नेपाल एयरलाइन्सले नियमित उडान गरे वापत ‘नो क्यान्सिल फ्लाइट’को अवार्ड समेत पाएको थियो ।

सन् १९९४ अक्टोबर ३० देखि सन् २००७ सम्ममा ओसाका उडान गर्दा नेपाल एयरलाइन्सले २ लाख ३५ हजार २४२ जना यात्रु बोकेको थियो भने २ हजार १६५ टन कार्गो बोकेको थियो ।

तत्कालिन समयमा इन्डाइरेक्ट फ्लाइन्ट म्यानेज गर्न नसक्दा र पूर्वाधारको अभावमा उडान स्थगित गरेको निगमको भनाइ छ ।

नेपाल वायू सेवा निगमका अध्यक्ष मदन खरेलका अनुसार अहिले ओसाका उडान सुरु गर्ने र पछि नारितामा उडान गर्ने योजना छ ।

उनका अनुसार आगामी जनवरीसम्ममा नारिता उडान सुरु गर्ने गरी निगमले काम गरिरहेको छ ।

जापानसँग निगमले चीनको ग्वाञ्जाओ र बेइजिङ, साउदी अरेबिया, दक्षिण कोरिया तथा यूरोपमा पनि उडानका लागि योजना बनाएको छ । जसमध्ये छिट्टै नै चीनको ग्वाञ्जाओमा उडान गर्ने तयारी निगमको छ ।

त्यसका लागि चीनका तर्फबाट सेफ्टी अडिट गर्न पदाधिकारी नेपाल आउने र त्यसपछि मात्रै उडानको अनुमति पाइनेछ । भने निगमले साउदी अरबमा त्यसपछि उडान सुरु गर्ने तयारी गरेको छ ।

नेपाल एयरलाइन्सले अहिले जापानको ओसाकामा सातामा तीन दिन बिहीबार, शनिबार र मंगलबार उडान गर्नेछ । जसका लागि दुईतर्फी टिकटको मूल्य ७२ हजार ८१४ रुपैयाँ कायम गरिएको छ । यो योजना एक महिनाका लागि हुने निगमको भनाइ छ ।

यसैबीच जापानमा रहेका नेपालीहरुले नेपाल एयरलाइन्सको सफल उडानसँगै खुसी व्यक्त गरेका छन् । उनीहरुले नेपाल राष्ट्रिय ध्वजाबाहक जहाजको उडानले आफूहरुलाई थप सहज बनाउने भन्दै निरन्तरताको कामना गरेका छन् ।

आफ्नै देशको जहाजमा घर फर्कन पाइने भन्दै उनीहरुले निगमको उडान नियमित र भरपर्दो हुनेमा आशा समेत देखाएका छन् ।

हाल जापानमा झण्डै ९० हजार नेपाली बसोबास गर्दै आएका छन् । जसमध्ये ३० हजारको संख्यामा विद्यार्थीहरु छन् । त्यस्तै, डिपेन्डेन्ट भिसामा जानेको संख्या २६ हजार छ । दक्ष कामदारको संख्या १२ हजार तथा इन्जिनियर र विशेषज्ञ ८ हजार ५०० भन्दा बढी छ ।

एक तथ्यांक अनुसार जापानको ओसाकामा मात्रै ३ हजारभन्दा बढी नेपाली बसोबास गर्दछन् ।


क्लिकमान्डु