आईडीपीले दियो ८ जनालाई ५ हजार अष्ट्रेलियन डलरको छात्रवृत्ति, २ जनालाई अझै अवसर



काठमाडौं । उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई जानकारी तथा परामर्श प्रदान गर्दै आएको इन्टरनेशनल एजुकेशन स्पेसलिष्ट (आईडीपी) नेपालले अध्ययनका लागि अष्ट्रेलिया गएका ८ जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

शुक्रबार राजधानीमा आयोजित आईडीपी अष्ट्रेलिया एजुकेशन फेयरको क्रममा उद्घाटन गर्दै अष्ट्रेलियाका राजदूत पिटर वडले विद्यार्थीका अभिभावकलाई छात्रवृत्ति हस्तान्तरण गरे ।

आईडीपीका अनुसार आईडीपीमार्फत अष्ट्रेलिया अध्ययन गर्न गएका विद्यार्थीहरुलाई उनीहरुको योग्यताका आधारमा प्रत्येकलाई ५ हजार अष्ट्रेलियन डलर बराबरको छात्रवृत्ति दिइएको हो ।

विद्यार्थीहरु अहिले अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा स्नातकोत्तर तह अध्ययन गरिरहेकाले उनीहरुका अभिभावकलाई हस्तान्तरण गरिएको हो ।

छात्रवृत्ति पाउनेमा आदेश राना, दीपान्कर थापा, दीपशिखा वायजु, नारायणी जोशी छन् । त्यस्तै, निखिल रौनियार, प्रवेश बज्राचार्य, प्रनेश श्रेष्ठ र शैलेस थापाले छात्रवृति पाएका हुन ।

छात्रवृत्ति पाउने सबै विद्यार्थीलाई शुभकामना दिँदै आईडीपीका म्यानेजिङ डाइरेक्टर एन्ड्रयू ब्राकलाले विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गरे ।

त्यस्तै, आईडीपी नेपालका प्रबन्ध निर्देशक निरज सिटौलाले योग्यताका आधारमा छनोट भएका विद्यार्थीहरुको छात्रवृत्ति दिइएको हो । उनका अनुसार आईडीपीले अझै २ जनालाई छात्रवृत्ति दिने समेत बताए ।

विद्यार्थीहरुको शैक्षिकसँगै विभिन्न योग्यता मापन गरेको अवस्थामा उनीहरुले छात्रवृत्ति पाउने उनले जानकारी दिए ।

शुक्रबार र्याडिसन होटलमा चलेको मेलामा अष्ट्रेलियाका विभिन्न ३७ वटा विश्वविद्यालय र कलेज सहभागी थिए ।

मेलामा ३ हजारभन्दा बढी विद्यार्थीहरुले विश्वविद्यालय, त्यहाँको शिक्षा, नीतिका बारेमा जानकारी तथा परामर्श लिएका थिए ।

विद्यार्थीहरुले विश्वविद्यालयबारे जानकारीसँगै छात्रवृत्तिका लागि समेत जानकारी लिएका थिए ।

नेपाली विद्यार्थीहरुको पहिलो रोजाइको गन्तव्यका रुपमा रहेको अष्ट्रेलिया उच्च शिक्षाका लागि प्रत्येक वर्ष विभिन्न देशबाट ६ लाखभन्दा बढी विद्यार्थीहरु त्यहाँ पुग्छन् ।

विश्वस्तरीय शिक्षा तथा विश्व र्याङकिङमा अग्रस्थानमा आउने विश्वविद्यालय भएकाले विद्यार्थीहरुको रोजाइमा अष्ट्रेलिया लामो समयदेखि पर्दै आएको छ ।

विद्यार्थीका लागि ट्युसन प्रोटेक्सन सिस्टम भएको र सहज प्रक्रिया समेत भएकाले अष्ट्रेलिया जाने विद्यार्थीको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ ।


क्लिकमान्डु