प्रभु बैंकको नाफा शतप्रतिशतले बृद्धि, साढे १९ प्रतिशत लाभांश बाड्न मिल्ने
काठमाडौं । प्रभु बैंकले शतप्रतिशतले नाफा बढाएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ५ करोड नाफा गरेको विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा ९६ करोड ७० लाख रुपैयाँ थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ७३ करोड गरेको विवरणमा उल्लेख छ । यसले बैंकले साढे १९ प्रतिशत लाभांश दिन सक्ने क्षमता देखिएको छ ।
बैंकले शतप्रतिशत बढीले नाफा बढाउदा ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा करिब शतप्रतिशतले बढाएको छ । गतवर्ष बैंकले ४ अर्ब ५६ करोड ब्याज करोड गरेको थियो । अघिल्लो वर्ष ब्याज आम्दानी २ अर्ब ८१ करोड थियो ।
असार मसान्तसम्ममा प्रभु बैंकले १ खर्ब १२ करोड निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ८६ अर्ब ४१ करोड गरेको छ ।
बैंकको प्रति सेयर आम्दानी २४.१८ रुपैयाँ रहेको छ । बैंकले खराब कर्जा अनुपात(एनपिएल)मा समेत सुधार गरेको छ । गतवर्ष बैंकको एनपिएल २.३१ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष एनपिएल ३.९८ प्रतिशतमा थियो ।
बैंकको कर्जा निक्षेप अनुपात ७४.२५ प्रतिशत रहेको छ । बैंकले ४.७० प्रतिशत स्प्रेडदरमा काम गरेको छ ।
बैंकको बेसरेट अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्ष १०.६२ प्रतिशत रहेको बेसरेट गतवर्ष ९.६३ प्रतिशतमा झरेको छ ।