सेयर बजारमा सामान्य सुधार, कारोबार रकममा सुस्तता कायमै



काठमाडौं । सेयर कारोबारमा साताको अन्तिम दिन बिहीबार सामान्य नै बनेको छ । साताको सेयर कारोबार सन्तोषजनक नरहेपनि अन्तिम दिन भने नेप्से मापन गर्ने सूचक ५.९० अंकले बढेर १२६४.३६ बिन्दुमा रोकिएको छ । बिहीबारको कारोबारमा केही उतार चढाव देखिएको छ ।

१७१ कम्पनीको १३ लाख ७५ हजार ५४१ कित्ता सेयर ३७ करोड ५३ लाख १५ हजार २०४ रुपैयाँको कारोबार भएको छ । बिहीबार नेप्से मापन गर्ने सूचकमा सामान्य सुुधार भएपनि कारोबार रकममा भने सुधार देखिएको छैन । ११ समूहको कारोबारमा बैंकिङ ६.९, होटल ८.४४, डेभलपमेन्ट बैंक ५.०१, जलविद्युत ७.०४, माइक्रोफाइनान्स १३.६८, जीवन बीमा समूहको उपसूचक ३.५८ अंकले बढेको छ भने बाँकी समूहको उपसूचक ओरालो लागेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्टको अग्रता देखिएको छ । शिवमको ३ करोड १ लाख ३६ हजार ५४९ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल क्रेडिट एण्ड कमर्श बैंक र नेपाल बैंक रहेको छ ।

बिहीबार गुँरास लघुवित्त वित्तीय संस्था, मल्टिप्रपोज फाइनान्स कम्पनी, खानिखोला हाईड्रोपावर कम्पनी, स्वेदशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने रिलायन्स फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, गुँरास लाईफ इन्स्योरेन्सका लगानीकर्ताहरुले गुमाएका छन् ।


क्लिकमान्डु