इन्टरनेटको मूल्य नबढ्ने, मन्त्रिपरिषदले गर्यो यस्तो निर्णय



काठमाडौं । इन्टरनेटको मूल्य नबढ्ने भएको छ । सरकारले इन्टनरेन सेवा प्रदायकलाई भ्याटको दायरामा ल्याएपछि सेवा प्रदायकहरुले २० प्रतिशतले मूल्य बढाउने घोषणा गरेका थिए ।

तर, सरकारले इन्टरनेटको मूल्य नबढोस् भनेर ‘इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायतका उपकरण, इन्ट्रानेटलिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दुरसञ्चार सेवा दस्तुर छुट दिई इन्टरनेट सेवाको मूल्य समायोजन गर्ने निर्णय’ गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजानिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले इन्टरनेट सेवाको मूल्य समायोजन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

मूल्य समायोजन गरिएसँगै इन्टरनेटको मूल्य नबढ्ने भएको हो । इन्टरनेट सेवा प्रदायकलाई भ्याट लगाएपछि सरकारले गत साउनमा सेवा प्रदायकहरुसँग मूल्य समायोजन गर्ने सम्झौता गरेको थियो । तर, अहिलेसम्म सम्झौता कार्यान्वयन गरेको थिएन ।

सेवा प्रदायकहरुले आगामी साउन १ गतेदेखि २० प्रतिशतले इन्टरनेटको मूल्य बढाउने घोषणा गरेपछि सरकारले विभिन्न छुट दिएर मूल्य समायोजन गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयले इन्टरनेट प्रयोगकर्तालाई थप आर्थिक भार पर्नबाट जोगाएको छ ।


क्लिकमान्डु