चौतारी र आरम्भ लघुवित्तले गरे मर्जरमा जाने सम्झौता
काठमाडौं । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्था र काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले एक आपसमा गाभिने सम्झौता गरेका छन् ।
आरम्भसँग गाभिने सम्झौतालाई पूर्णता दिदै अन्य लघुवित्तहरुसँग पनि गाभिने गृहकार्य अगाडी बढाइने चौतारी लघुवित्तका अध्यक्ष जगत पोखरेलले जानकारी दिए ।
उनले यो मर्जर पश्चात उपयुक्त थप संस्थाहरुसँग मर्जर वा प्राप्तीमा जाने बताउँदै तीन चार वर्षभित्र नेपालकै सबैभन्दा ठूलो नेटवर्क भएको लघुवित्त बन्ने दाबी गरे ।
चौतारी र आरम्भले सम्झौता भएको तीन महिनाभित्र संयुक्त कारोबार थाल्ने कार्यतालिका बनाएर अगाडि बढ्ने सम्झौता छ । सम्झौतामा चौतारीका तर्फबाट संचालक समितिका अध्यक्ष जगत पोखरेल र आरम्भका तर्फबाट संचालक समितिका अध्यक्ष दिपक तिवारीले हस्ताक्षर गरेका छन् ।
केही महिना अगाडि मात्रै प्राथमिक शेयर निष्काशन गरि बाँडफाँड गरेको चौतारी र आरम्भले राष्ट्र बैंकको निर्देशनपछि मर्जरको बाटो रोजेका हुन् ।
यसअघि आरम्भले हकप्रद जारी गरि पूँजी वृद्धि गर्ने प्रस्ताव साधारणसभाबाटै पारित गराएको थियो तर हकप्रद निष्काशनमा राष्ट्र बैंकले अंकुश लगाएपछि वैकल्पिक बाटो अंगालेको हो । यसअघि आरम्भ ७० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णयमा पुगेको थियो ।
दुबै लघुवित्त एक बराबर एक शेयर स्वाप रेसियोमा गाभिने र एकीकृत संस्थाको नाम आरम्भ चौतारी लघुवित्त रहने छ । आरम्भको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ भने चौतारीको १८ करोड ६० लाख छ । नयाँ बन्ने लघुवित्तको चुक्ता पूँजी २४ करोड ६० लाख पुग्नेछ । यस्तै संस्थापक शेयर ६३.६६ प्रतिशत र साधारण शेयरको अनुपात ३६.३४ प्रतिशत कायम रहनेछ ।
चौतारी र आरम्भ दुवैले १५ र १५ जिल्लामा आफ्नो सेवा संचालन गरिरहेका छन् । वित्तीय संस्थाले तत्काल ३० जिल्लाका ७७ शाखा मार्फत करिब ३० हजार महिला सदस्यमा सेवा प्रवाह गर्नेछ । दुबै संस्थाको लगानीमा रहेको कर्जा एक अर्ब ९५ करोड र ६० करोड बचत रहेको छ ।
नयाँ संस्थाको प्रमुख कार्यकारी अधिकृतमा चौतारीकै प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे रहनेछन् । सञ्चालक समितिमा चौतारीको अध्यक्षसहित ४ जना र आरम्भ माइक्रोफाइनान्सको २ जना रहने सहमती भएको छ । अवको केन्द्रीय कार्यालय आरम्भको केन्द्रीय कार्यालयलाई नै मानिने भएको छ । अहिले चौतारीको ५६ शाखा छ भने आरम्भको २० शाखा रहेको छ ।