प्रदेश १ चामल, गहुँ, मकै र कोदोमा आत्मनिर्भर



 


विराटनगर । प्रदेश नम्बर १ चामल, गहुँ, मकै र कोदोमा आत्मनिर्भर हुँदै गएको छ । आर्थिक वर्ष ७४÷७५को अन्त्यसम्मको तथ्यांकअनुसार प्रदेश १ बाट चामल निर्यात गर्न सकिने देखिएको छ ।

प्रदेश १ बाट अधिकतम मात्रामा धागो, फलाम तथा स्टिल, अलैची, जुस, चिया, जुटको ब्याग निर्यात हुने मुख्य बस्तुमा परेका छन । निर्यात सम्भाव्यता आयात प्रतिस्थापन तथा अन्तर प्रादेशिक व्यापार हुने वस्तु तथा सेवाहरुको प्रादेशिक प्रोफाइल सम्बन्धी प्रदेश नम्बर १ को कार्यक्रममा जानकारी दिँदै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका गोविन्द आचार्यले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन ।

उनले ७ वटा प्रदेशमा प्रदेश नम्बर १ स्रोत र सम्भाव्यता रहेको भन्दै आर्थिक वर्ष ७४÷७५ मा प्रदेश नम्बर १ मा ७ लाख ६५ हजार ३ सय २४ मेट्रिक टन चामल उत्पादन भएकोमा ६ लाख ६० हजार ७ सय १६ उपभोग भएको र १ लाख ४ हजार ६ सय ८ मेट्रिक टन बच्ने जानकारी दिए ।

त्यस्तै गहँु, मकै कोदोमा प्रदेश १ आत्मनिर्भर रहेको उनले जानकारी दिए । भारतीय कृषि क्षेत्रलाई प्राप्त सुविधाले भारतीय उत्पादनको लागत कम हुनु, ठूलो परिमाणमा उत्पादन हुँदा प्रति इकाइ लागत मूल्यमा हुने कमीका कारण भारतीय वस्तुहरुसँग नेपाली बस्तुको लागत मूल्य तुलनात्मक रुपमा बढी भएको बताए ।

औद्योगिक जनशक्तिको कमी लगायतका कारण नेपाली वस्तुको निर्यातका चूनौती रहेको उनले बताए । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक सुरेन्द्रनाथ गोंगलले व्यापार घाटा अधिकतम बढ्दै गएकोले निर्यात बढाउनु पर्नेमा जोड दिए ।

उनले अन्तरप्रादेशीक व्यापार अभिवृद्धि, आयात प्रतिस्थापन र व्यापार घाटा न्यूनीकरण गर्नु नै कार्यक्रमको उद्देश्य रहेको बताए । यता उद्योगी , व्यापारीहरुले भने उद्योग ,व्यापार मैत्री नीति आवश्यक रहेको भन्दै उद्योगी अशोक मुरारकाले पहाडी क्षेत्रलाई अर्गानिक स्टेट बनाउन माग गरे ।

मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडाले व्यापार घाटा कसरी कम गर्न सकिन्छ र निर्यातलाई कसरी बढाउन सकिन्छ भनेर त्यसतर्फ सरकारले काम गर्नुुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश १ का वन , वातावरण तथा पर्यटन मन्त्री जगदीश कुशियैतले अहिले जमिन र उर्जाको सहि व्यवस्थापन नभएको भन्दै प्रदेश सरकारले त्यसका लागि काम गरिरहेको बताए ।

प्रदेश नम्बर १ मा उत्पादित कच्चा पदार्थको सही व्यवस्थापन हुन सके मात्र प्रदेश अगाडि बढ्ने उनले बताए । कार्यक्रममा उद्योगी , व्यापारी, प्रदेश नम्बर १ का विभिन्न मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो ।


क्लिकमान्डु