हामीले उठाएका माग बजेटले सम्बोधन गर्यो, खुसी छौंः शेखर गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्षले सरकारले निजी क्षेत्रले उठाएका धेरै मागहरु सम्बोधन गरेको बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ का लागि आज संसदमा बजेट प्रस्तुत गरेका थिए ।

‘निजी क्षेत्रले उठाउँदै आएका अधिकांश मागहरु पूरा भएका छन्, जसकारण हामी खुसी छौं,’ गोल्छाले क्लिकमाण्डूसँग भने, ‘तर, कार्यान्वयन कसरी हुन्छ, त्यो भने हेर्न बाँकी नै छ ।’

जग्गा प्राप्तिका लागि सरकारले ठाउँ नै तोकेर उखेग व्यवसाय गर्न सहज बनाएको उनको ठम्याई छ ।

त्यसैगरी, कपडा उद्योगलाई बिजुलीमा ५० प्रतिशत छुट र ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सरकारको घोषणा अत्यन्तै सकरात्मक भएको गोल्छाले बताए ।

‘भन्सारमा पनि बजेट निकै सिरियस देखिन्छ,’ उनले भने, ‘सडकका लागि धेरै राम्रा कार्याक्रमहरु छन् ।’

तर, सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यले भने निजी क्षेत्रलाई झस्काएको छ ।

‘७ प्रतिशतको जीडीपी ग्रोथ हुँदा त बजारमा पैसा छैन, यस्तो अवस्थामा कसरी साढे ८ प्रतिशतको वृद्धि ासिल होला ?’ गोल्छाले प्रश्न गरे, ‘ठूलो विदेशी लगानी नल्याउने हो भने यो आर्थिक वृद्धिदर संभव छैन ।’

समग्रमा बजेट राम्रो भएको उनले बताए ।

प्राय बजेटले अटोमोवाइल क्षेत्रमा कर बढाउने गरेको तर यो बजेटले कर नबढाएकोमा उनले खुसी व्यक्त गरे ।


क्लिकमान्डु