जागिरको अन्तिम दिन कंसाकारले भने- कालोमोसो र जेलको पर्वाह नगरी काम गरेँ




काठमाडौं । नेपाल वायू सेवा निगममा १० वर्ष बिताएपछि आजबाट महाप्रबन्धक सुगरसत्न कंसाकार बिदा भएका छन् । सोमबार बिदाइ हुँदै गर्दा उनले ४१ वर्षको अवधिमा आफूले कसरी २ वटा संस्थामा बसेर काम गरेको अनुभव साँटेका छन् ।

उनले विज्ञप्तीमार्फत वायू सेवा निगमलाई कसरी उचाइमा पुर्याउनका लागि भूमिका निर्वाह गरे, र कसरी जेल र कालोमोसोको प्रवाह नगरी निरन्तर काममा लागे भन्ने पनि खुलाएका छन् । एयरलाइन्सको सेवालाई प्रभावकारी बनाउनका लागि आफूले खुलेको भूमिकालाई सम्झँदै उनले बिमान खरिद गर्दाका दुःख पनि व्यक्त गरेका छन् ।

 

कंसाकारले जारी गरेको विज्ञप्तीको पूर्णपाठ

नेपाल वायुसेवा निगममा महाप्रबन्धकका रुपमा २०६५ साल कात्तिक २२ गते प्रवेश गरेको हो । नेपाल टेलिकममा ३४ वर्ष काम गरिसकेपछि निगममा पहिलो पल्ट प्रवेश गरेको हुँदा शुरुका केही दिन निगमका पदाधिकारीहरुसँग संवाद, छलफल, अन्तक्रिया गर्दै प्रचुर मात्रामा अध्ययन विश्लेषण गरें ।

अध्ययन विश्लेषण कै सिलसिलामा निगमलाई संरचनात्मक परिवर्तन गरी व्यवस्थापकीय सुधार गर्ने सम्बन्धमा अध्ययन विश्लेषण गरी सुझाव दिन मिति २०५८फागनु ३ गतेदेखि २०६७ जेठ १२ गतेकाबीच गठन गरिएको पाँचवटा उच्चस्तरीय कार्यदलहरुको प्रतिवेदनहरु मैले पढेँ ।

ती सबै प्रतिवेदनहरुले प्रत्यक्ष र अप्रत्यÞक्ष रुपमा व्यवस्थापन सुधार नगरिकन अथवा संरचनात्मक परिवर्तन नगरिकन सेवा विस्तार गर्नु उचित नहुने राय दिएको भएतापनि मैले विमान खरिद गरी सेवा विस्तार गर्ने कार्य र व्यवस्थापन सुधार कार्य सँगसँगै जानु उचित हुने धारणा मैले अघि सारेँ ।

निगमको लागि यो एक प्रकारको आधारभूत रणनीतिक परिवर्तन थियो । यही रणनीति बमोजिम मैले निगममा पाइला टेकेको ५ महिनामा नै पर्यटन मन्त्रालय, संचालक समिति र निगम कर्मचारीहरुको सहमति र सहयोगमा ६ वटा विमान खरिद गर्न मिति २०६५ चैत २५ गते टेण्डर आह्वान गर्न सफल भएँ ।

विमान खरिद गर्न अनिवार्य रुपमा लिनै पर्ने ऋणबापत नेपाल सरकारले जमानत दिन सक्ने अधिकार नेपाल सरकारलाई प्रदान गर्न ऋण तथा जमानत ऐन, २०२५ लाई नै संशोधन गराउन पहल गरियो र उक्त अति महत्वपूर्ण कार्य पनि मिति २०६६ मंसिर १० गते संशोधन भएपछि सफल भयो । यसरी विमान खरिद गर्दै जान आर्थिक स्रोतको व्यवस्था गर्न निगमलाई एक ठूलो उपलब्धी हासिल भयो ।

नेपाल भ्रमण वर्ष २०११ अगावै जसरी भए पनि कम्तीमा पनि एउटा नयाँ टल्केको विमान काठमाडौंमा अवतरण गराउने महान लक्ष्य लिएर युद्ध स्तरमा खरिद प्रक्रिया अघि बढाएँ । तर निगमलाई कुनै हालतमा उँभो लाग्न नदिने केही तत्वले अनर्गल प्रचार प्रसार गरी विमान खरिद प्रक्रियामा अवरोध खडा गरिदियो र मुद्दा मामिलामा अल्झाएर दुई वटा न्यारोबडी ए३२० विमान प्राप्त गर्न झण्डै ६ वर्षले ढिलाइ हुन गयो । त्यससमय उक्त ६ वटा विमान योजना बमोजिम ल्याउन दिएको भए आजको दिनमा निगमसँग घटीमा १० वटा जेट विमान हुन्थ्यो र कम्तीमा पनि जापान र युरोप सन् २०१३ को शुरुमा नै उडान भैसक्थ्यो होला, किन कि आइकाओ र इयूले नेपाललाई ब्ल्याक लिष्टमा राखेको सन् २०१३ को अन्ततिर मात्र हो र सेवा संचालन भैसकेको अवस्थामा संचालनमा रहेको गन्तव्यलाई बन्द गर्दैन् ।

उक्त ६ वटा विमानको खरिद प्रकृया ऐन कानून नियम विनियम बमोजिम नै गरिएको ठहर गरि सम्मानित सर्बोच्च अदालतले मिति २०६९ बैशाख १२ मा फैसला गर्यो र उक्त ३८ पानाको पूर्णपाठको एक अंशमा उल्लेख गरेको छ कि ‘व्यवस्थापनको प्रतिभा, क्षमता र नेतृत्वदायी भूमिकाको जिम्मामा धेरै ठूलाठूला आयोजना जिम्मा लगाउने हुनाले उनीहरु पनि राष्ट्र र समाजका पूँजी हुन भन्ने सकारात्मक दृष्टिकोणले उनीहरुको सम्बन्धमा जिम्मेवारीका साथ र वीघिसँगत निर्णय लिने सोच सवैमा हुन जरुरी छ ।’

मिति २०७२ जेठ १४ मा म पुनः महाप्रबन्धक पदमा नियुक्त भएर आएँ । अञ्दाजी ५० लाख नेपाली नागरिकहरु मुलुक बाहिर भएको कारण र विदेशी पर्यटक संख्या उल्लेखनीय रुपमा वृद्धि गर्न नेपाल आउन लाग्ने चर्को हवाइ भाडालाई निगमले हस्तक्षेपकारी भूमिका खेल्नै पर्छ भन्ने मान्यतामा शुरुवातको रुपमा दुईवटा वाइडबडी विमान खरिद गर्ने प्रक्रिया प्रारम्भ गरेँ ।

वाइडबडी खरिद कार्यसम्पादनका क्रममा निगमको कर्मचारीहरुबाट भव्य रुपमा गरिएको सहयोग र समर्थनका लागि म हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु । मेरो विवेक र क्षमताले भ्याएसम्म प्रचलित ऐन कानून र निगमको आर्थिक विनियमावलीलाई अनुशरण गरी अत्यन्तै पारदर्शी ढंगले सम्पूर्ण खरिद प्रक्रिया अघि बढाइएको थियो । निगमको कार्यकारी प्रमुखको हैसियतले आफ्नो जिम्मेवारी निर्वाह गर्नमा निगम कर्मचारीहरुबाट हात नबढाएको भए र उदारतापूर्वक सहयोग प्रदर्शित नगरेको भए पक्का पनि वाइडबडी खरिद सम्भव हुँदैन थियो ।

वाइडबडी खरिद प्रकृया शुरु हुनासाथ व्यवस्थापकीय सुधार कार्यहरु पनि प्रारम्भ गरियो । हरेक सुधारको पक्षमा पनि निगम कर्मचारी परिवारबाट ठूलो सहयोग मैले पाएँ । जस्को फलस्वरुप ग्राउन्ड हैंडलिङमा सुधार मात्र होइन अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइसागो सर्टिफिकेट प्राप्त भयो । त्यसैगरी अन्तर्राष्ट्रिय स्तरको एयरलायन्सकारुपमा परिचित गराउन अन्तर्राष्ट्रिय संस्था आइएटीएको सदस्य बन्न गृहकार्य प्रारम्भ गरियो ।

निगमभित्र व्यापक रुपमा कम्प्यूटराइजेशन गर्नेतर्फ पाइला चालियो । अनलाइन बूकिङ संचालनमा ल्याइयो । इन्जिनियरिङ र अप्रेशनतर्फ अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर प्रणाली खरिद गरी संचालनमा ल्याइयो । निगमलाई अन्तर्राष्ट्रियस्तरको एयरलाइन्समा रुपान्तर गर्न निगमको सबै क्रियाकलापलाई समेट्ने गरी बृहत रुपमा कम्प्युटराइजेशनमा जानैपर्छ भन्ने मान्यतामा जतिसुकै कठिन भए पनि इन्टप्राइज रिसोर्स प्लानिंग (इ.आर.पी) प्रणाली भित्राउन गृहकार्य शुरु गरियो ।

आउने दिनहरुमा आन्तरिक सेवातर्फ पनि उपयुक्त विमानहरु थप्दै सबै ट्रंक रुटहरु र स–साना चालु स्टोल विमानस्थललगायत नागरिक उड्डयन प्राधिकरणले उडान योग्य अवस्थामा पुर्याउने थप विमानस्थलहरुमा समेत नियमित उडानहरु राख्ने जमर्को गरेर राष्ट्र निर्माणमा टेवा पुर्याउनेतर्फ पनि मेरो योजना थियो ।

म सबै कर्मचारीसाथीहरुलाई स्मरण गराउन चाहन्छु कि गत ३० औं ÷ ४० औं वर्षसम्म निगमले अन्तर्राष्ट्रिय सेवा, ग्राउन्ड हैंडलिङ सेवा र आन्तरिक सेवाको ब्यापारबाट आउने आम्दानीलाई सन्तुलित रुपमा व्यवस्थापन गरी निगमले राष्ट्र निर्माणमा ठूलो भुमिका खेलिरहेकै थियो । अबका दिनहरुमा यो नै नीति लिएर निगमले देश सेवा गर्न अघि बढ्नु पर्छ ।

निगममा संस्कार परिवर्तन गर्न र कर्मचारीहरुमा काम प्रति जोस जाँगर र उत्साह ल्याउन मैले धेरै प्रयास गरेँ, अफिस राजनीति वा गुटबन्दीलाई धेरै मात्रामा निस्तेज पार्नमा सफल भएँ । सरुवा, बढुवा, तालिम र विदेशी पोष्टिङमा न्योयोचित निर्णय लिनेमा निकै जोडबल गरेँ । भनिन्छ कुनै पनि संस्थाको व्यवस्थापनमा सबैभन्दा कठिन कार्य नै कर्मचारीहरुको मन (माइन्डसेट) परिवर्तन गर्ने हो र यस सम्बन्धमा निगम कर्मचारीहरुको विचार, चिन्तन, मानसिकता र अन्तरज्ञानमा सकारात्मक परिवर्तन ल्याउन मैले सक्दो भूमिका खेलेँ ।

टिम स्पिरिट, एक आपसमा सहयोगको भावना, आफ्नो रोजगारीमा गौरव, प्रशन्न मुद्रामा रहने, ग्राहकलाई आदर गर्ने बानी व्यहोरा, आफूले गरिरहेको कार्य सम्पादनबाट अप्रत्यक्ष रुपमा मुलुकको तीन करोड जनताको प्रतिव्यक्ति आय बढाउने जस्तो धर्मको काम गरिरहेको महसुस गर्ने आदि जस्ता मूल्य र मान्यतामा गम्भीर रुपमा संधै ध्यान दिन कर्मचारी साथीहरुलाई निरन्तर रुपमा बोध गराउँदै आएँ ।

नेपाल वायुसेवा निगमको विकास नगरी पर्यटन विकास असम्भव छ र पर्यटनको बिकास बिना देश बिकास असम्भव छ भन्ने मेरो बिश्वास रही आएकाले जेल र कालोमोसो समेतको परवाह नगरिकन मैले निगमलाई एक उचाइमा पुर्याउने उद्देश्य प्राप्तीका लागि अघि बढिरहेँ । म कामना गर्छु कि निकट भविष्यमा नै निगमको सेवा युरोप, अमेरिका र अष्ट्रेलिया पुगोस, यसमा मैले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रण गर्दछु ।

अन्तमा मैले करिव ४१ वर्ष दुईवटा सार्वजनिक संस्थामा गरेको सेवाबाट प्राप्त मेरो अनुभूति र अनुभवले नेपाल वायुसेवा निगम जस्तो अत्यन्तै जोखिमी प्रतिस्पर्धामा होमिएको एक सरकारी संस्थालाई के कसरी नेतृत्व दिने भन्नेबारे मात्र होइन कहिल्यै पनि आफ्नो आदर्शबाट पछि हट्न हुन्न भन्ने मेरो मान्यता रही आयो ।

यस्को अलावा निगममा कार्यसम्पादन गर्दाको प्रत्येक क्षण मैले रमाइलो, सिर्जनात्मक र रचनात्मक ढंगले विताएको मैले अनुभव गरेको छु । यसका लागि पनि म सम्पुर्ण कर्मचारी साथीहरुप्रति हृदयतः आभारी र कृतज्ञ छु । साथै आजको यस क्षणमा निगमलाई अझ सशक्तिकरण गर्दै एक अन्तर्राष्ट्रियस्तरको उचाइमा पुर्याउने कार्यको सिलसिलामा आउँदो दिनहरुमा तपाईंहरुले खेल्ने भूमिकामा मेरो संधै सहयोग र समर्थन रहने यहाँहरु सबैलाई आश्वस्त पार्न चाहन्छु ।


क्लिकमान्डु