विराटनगर भन्सारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन



बिराटनगर । बिराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा ९४ प्रतिशत मात्र राजस्व अशुली गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्त सम्मको ३० अर्ब ६२ करोड २९ लाख ८२ हजार रुपैयाँ तोकिएको लक्ष्यमा ९४.३७ प्रतिशत अर्थात २८ अर्ब ८९ करोड ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

जुन गतवर्षको तुलनामा झण्डै ५ प्रतिशतले कमी हो । गत वर्ष सोही अवधिमा कार्यालयले लक्ष्यको ९९.३४ प्रतिशत अर्थात २२ अर्ब ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ राजस्व अशुली गरेको थियो । भन्सार कार्यालयलाई चालु आर्थिक वर्षको साउन महिनामा तोकिएको २ अर्ब ९७ करोड, ७२ लाख ३४ हजार राजश्ल लक्ष्यमा लक्ष्य भन्दा बढी २ अर्ब ९९ करोड, ७५ लाख ३६ हजार रुपैयाँ राजश्व अशुली भएको छ । गत वर्ष सोही अवधिमा लक्ष्यको ७८ दशमलव ०५ प्रतिशत मात्र अशुली भएको विराटनगर भन्सार कार्यालयका सुचना अधिकारी मणिराम पौडेलले जानकारी दिए ।

त्यसैगरी भदौ महिनाको कुल लक्ष्य ३ अर्ब ४० करोड २५ लाख ५४ हजार रुपैयाँ रहेपनि लक्ष्य भन्दा कम ३ अर्ब ७ करोड, ९० लाख रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कार्यालयले लक्ष्य भन्दा साढे १५ प्रतिशत बढी राजश्व संकलन गरेको थियो । असोज महिनामा विराटनगर भन्सार कार्यालयलाई तोकिएको २ अर्ब ९७ करोड, ७२ लाख ३४ हजार रुपैयाँ लक्ष्य भन्दा साढे ३३ प्रतिशत बढी अर्थात ३ अर्ब ९७ करोड, ६४ लाख, ५० हजार रुपैयाँ संकलन गरेको छ । जुन गत वर्षको तुलनामा ५७ दशमलव ४० प्रतिशतले बढी भएको सुचना अधिकारी पौडेलले जानकारी दिए । त्यसैगरी कार्तिक महिनामा तोकिएको राजश्व लक्ष्यको ९२. ८२ प्रतिशत मात्र राजश्व असुली भएको छ । सो महिनाको लक्ष्य ३ अर्ब ४० करोड, २५ लाख ५४ हजार रुपैयाँ रहेकोमा ३ अर्ब १५ करोड, ८२ लाख ७० हजार रुपैयाँ राजश्व अशुली गरेको हो । गत वर्ष सोही महिनामा तोकिएको लक्ष्य भन्दा ८ प्रतिशत बढी राजश्व संकलन भएको थियो ।

चालु आर्थिक वर्षकै मंसिर महिनामा पनि लक्ष्य भन्दा ७ प्रतिशत राजश्व अशुली कम भएको छ । गत आर्थिक वर्षको सोही महिनामा लक्ष्यको सय दशमलव ४३ प्रतिशत राजश्व अशुली भएको थियो । विराटनगर भन्सार कार्यालयका सुचना अधिकारी पौडेलले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा राजश्व अशुली सन्तोषजनक रहेको बताउँदै तोकिएको लक्ष्य अनुसार राजश्व संकलन हुने विश्वास व्यक्त गरे ।

उनले अझै झण्डै तिन महिना समय अवधि बाँकी रहेकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा चोरी निकासी पैठारीका ३ सय ७९ वटा मुद्धा दर्ता भएका छन् । भन्सार गस्तिबाट १३ वटा मुद्धा दर्ता भएकोमा ४ लाख ८ हजार रुपैयाँ मुल्य बरावरको अवैध सामान वरामद गरिएको छ ।

त्यस्तै सशस्त्र प्रहरी भन्सार राजश्व गस्ति टोलिद्धारा दर्ता गरिएको १ सय ३३ वटा मुद्धामा ९८ लाख ३८ हजार रुपैयाँ र सशस्त्र प्रहरी वलद्धारा दर्ता भएका २ सय ३३ वटा मुद्धामा १ करोड १३ लाख ८१ ह्जार रुपैयाँ मुल्य वरावरका सामान वरामद भएको सुचना अधिकारी पौडेलले जानकारी दिए ।


क्लिकमान्डु