शुक्रबार सरकारको नीति तथा कार्यक्रम आउँदै, के होलान् नयाँ योजना ?



काठमाडौं । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

चालु आवका लागि सरकारले तय गरेको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन नभएको अवस्थामा आगामी आवका लागि के कस्तो नीति तथा कार्यक्रम आउला भन्ने आम चासो रहेको छ ।

चालु आवमा सरकारले अगाडि सारेको सामाजिक सुरक्षा, जनताको जलविद्युत्, सबै नेपालीको बैंक खाता अभियान जस्ता केही कार्यक्रम सुरु भएका छन् । सामाजिक सुरक्षामा १ प्रतिशतको मात्रै सहभागिता रहेको छ ।

देशभर कूल २ लाख कम्पनी तथा संस्था सञ्चालनमा रहेपनि हालसम्म १ प्रतिशतको हाराहारी मात्रै सरकारको सो अभियानमा सहभागी भएका छन् ।

यस्तै जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएण्का ३ वटा जलविद्युत् आयोजनाले साधारण सेयर बिक्री गरेका छन् । माथिल्लो त्रिशुली थ्री बी, रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण सेयर बिक्री भएको छ । त्यसमा पनि नियमित रुपमा सेयर खरीद बिक्री गरिरहेकाहरु नै सहभागी भए । जसका कारण सरकारले अपेक्षा गरेका ग्रामीण तथा दूरदराजका क्षेत्रमा सो कार्यक्रम पुग्न सकेको छैन ।

सरकारले १९ वटा आयोजनालाई सो कार्यक्रममा समावेश गरेको छ । केही अध्ययनमा रहेका आयोजनालाई समेत सहभागी गराइएको छ । निर्माणमा भइरहेका एकाध मात्रै आयोृजनालाई सो कार्यक्रममा समावेश गरिएको छ ।

यस्तै सबै नागरिकलाइर्ब स्वास्थ्य बीमा गर्ने सरकारको लक्ष्य समेत कार्यविधिको अभाव भन्दै पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन ।

सरकारले चालु आर्थिक वर्षमा समावेश गरेका धेरै जसो नीति तथा कार्यक्रम कार्याबन्वयन हुन नस्क्दा आगामी आवका लागि तय गरिएको नीति तथा कार्यक्रम कस्तो आउला र के कस्ता विषय समेटिएला भन्ने सर्वत्र चासो भने छ ।

नीति तथा कार्यक्रममा समावेश भएका विषयमा बारेमा सरकारले हालसम्म कुनै पनि आधिकारीक जानकारी दिएको छैन । गत सोमबार बसेको नेकपा सचिवालयको बैठकले भने प्रतिनिधिसभाको निर्वाचनको क्रममा व्यक्त गरिएको प्रतिवद्धताका आधारमा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको थियो । सो बाहेक अन्य विषय भने हालसम्म सार्वजनिक भएको छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने प्रि बजेट छलफल गर्नुपर्नेमा सबैभन्दा पहिले नीति तथा कार्यक्रम ल्याएर सरकारले गलत गरेको बताएको छ । यस्तो अवस्थामा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा प्रतिपक्षीको प्रतिक्रिया कस्तो रहला भन्ने जिज्ञासा पनि रहेको छ ।


क्लिकमान्डु