एक बैंकले ३५ सय बढीलाई सेवा दिइरहेको छः गभर्नर डा. नेपाल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले हाल बैंकको एक शाखाले ३५ सय ६० जनालाई सेवा दिइरहेको बताएका छन् । नेपालले अहिलेसम्म ७२४ स्थानय तहमा वाणिज्य बैंकको शाखा पुगेको र चालु आव भित्रै सबै स्थानीय तहमा बैंकको शाखा पुग्ने उनले बताए ।
राष्ट्र बैंकको ६४ औं बार्षिक साधारण सभाको अवसरमा गभर्नर डा. नेपालले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय क्षेत्रको निक्षेप ३० खर्ब नौ अर्ब रुपैयाँ रहेको जानकारी गराए । उनका अनुसार यो अवधिसम्ममा दुई करोड ५७ लाख रुपैयाँ निक्षेपमा भएको छ ।
कार्यक्रममा गभर्नर नेपालले पछिल्लो समयमा सेयर बजारमा विस्तारै सुधार देखिँदै गएको बताए । आगामी दिनमा पनि बजारको अझै सुधार हुँदै जाने धारणा राखे ।
कार्यक्रममा राष्ट्र बैंकले डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले राष्ट्र बैंकको शाखा कर्णाली प्रदेशबाट केही समयमा नै सञ्चालनमा आउने बताए ।
उनले भने, ‘कर्णाली प्रदेशको सुर्खेतमा शाखा सञ्चालन गर्नको लागि राष्ट्र बैंकले घर भाडामा लिन टेण्डर प्रकिया अघि बढाइसकेको छ, छिट्टै नै कार्यालय सञ्चालनमा आउने छन् । उनले राष्ट्र बैंको थापाथलिमा बनिरहेको भवनको २२ र बालुवाटारमा बसेको भवनको २४ प्रतिशत काम सकिएको जानकारी गराए ।
कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले तरलता अभावका कारण बैंकको ब्याजदरमा चाप परेको बताए । उनले अब आउने मौद्रिक नीति यहि विषयलाई ध्यान दिएर ल्याउन सुझाव दिए ।
अध्यक्ष ढुंगानाले बैंकको ब्याजदर बढी भयो भनेपनि १०, १२ प्रतिशत ब्याज सामान्य भएको बताए । उनले यति ब्याजदर सामान्य भएपनि बैंकहरूले यसको विषयमा सबैलाई राम्रोसँग जानकारी गराउन नसक्दा आलोचना भएको उल्लेख गरे ।