स्टील उद्योगमा क-कसले थप्दैछन् ३ अर्ब ७२ करोड लगानी ?



काठमाडौं । आर्थिक वर्षको सात महिनाको अवधिमा निजी क्षेत्रबाट स्टील उद्योगमा ३ अर्ब भन्दा बढी रकम बराबरको लगानी प्रतिबद्धता आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत उद्योग विभागमा निजी क्षेत्रबाट ३ अर्ब ७२ करोड ७० लाखको लगानी प्रतिबद्धता सहित ४ वटा उद्योग दर्ता भएका छन् ।

विभागका अनुसार दर्ता भएका मध्ये ४ वटा उद्योग मध्ये ३ वटामा भने शतप्रतिशत स्वदेशी लगानी र बाँकी एउटामा भने पचास/पचास प्रतिशत स्वदेशी र विदेशी लगानी रहेको छ ।

विभागको विवरण अनुसार नवलपरासी १० मा गोयल इस्पात स्टिल उद्योग स्थापना गर्ने भन्दै उद्योगी सुशील कुमार शर्माले आवेदन दिएका छन् । कूल पूँजी २ अर्ब बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ ।

सो उद्योगले एम एस पाइप ५००० एमटी, जिआई पाइप २०० एमटी, इलिक्ट्रक पोल ४००० एमटी, एच आर सिआर कट टु लेन्थ सिट २४००० एमटी, जिआई सिट १०००० एमटी, प्रि पेन्टेड जि आइ सिट ५००० एमटी, सटर पार्टस् ५००० एमटी उत्पादन गर्ने लक्ष्य लिएको छ । उद्योगले १२५ जनालाई रोजगारी दिने समेत बताएको छ ।

यस्तै नवलपरासी १५ मै टेन स्टिल उद्योग स्थापना गर्ने भन्दै उद्योगी अनुप कुमार यादवले आवदेन दिएका छन् । कूल पूँजी २४ करोड ७० लाख लगानी गर्ने लक्ष्य राखिएको छ ।

मिल्ट स्टील पाइप १२००० एमटी, स्टेनलेस स्टील पाइप ६००० एम टि उत्पादन गर्ने लक्ष्य लिएको छ भने दुई सय जनालाई रोजगारी दिने समेत जनाएको छ ।

विभागमा उल्लेख गरिए अनुसार झापा ४ मा दुर्गा स्टील उद्योग स्थापना गर्ने भन्दै उद्योगी दिपक डालमियाले आवदेन दिएका छन् ।

कूल पूँजी २० करोड बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ भने उद्योगले एम एस एंगल एण्ड पाटी १५००० एमटी, वाइनडिङ वायर ३००० एमटी, रिबड वायर ६००० एमटी, एम एस पाइप ६००० एमटी उत्पादन गर्ने समेत लक्ष्य लिएको छ । उद्योगले २० जनालाई रोजगारी दिने समेत जनाएको छ ।

यस्तै कैलाली १० मा ब्रोन्टस स्टील उद्योग स्थापना गर्ने भन्दै चार जना उद्योगीले आवदेन दिएका छन् । आवदेन दिने उद्योगीहरुमा दिनेश राज भण्डारी, देवकोटा पोखरेल, उदय नरायण देवकोटा, प्रकाश सुवेदी रहेका छन् ।

उद्योगमा कूल पूँजी १ अर्ब २८ करोड बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ । उद्योगले कन्स्ट्रक्सन मेटेरियल्स १२०००० एम टि उत्पादन गर्ने लक्ष्य लिएको छ । उद्योगले ३२२ जनालाई रोजगारी दिने समेत जनाएको छ ।


पुष्प दुलाल