सेबोन अध्यक्ष रेवत बहादुरले भेट्न नदिएपछि लगानीकर्ता पुगे प्रधानमन्त्री कार्यालय



काठमाडौं । धितोपत्र बजारको सर्वोच्च नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको मागलाई बेवास्ता गरेपछि यति बेला लगानीकर्ताहरु आफ्नो गुनासो लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका छन् ।

सेयर लगानीकर्ता दबाब समूहको टोली यसअघि नै सुझाव समितिले दिएको ५८ वटा बुँदा कार्यान्वयन र समूहले राखेको ३२ बुँदे मागका विषयमा जानकारी लिन बोर्डमा पुगेको थियो । तर बोर्डको अध्ययक्ष डा. रेवत बहादुर कार्कीले लगानीकर्ताहरुलाई भेटन् नदिएको दबाब समूहको संयोजक हरी ढकालले बताए ।

ढकालले यति बेला ५८ बुँदा कार्यान्वयनमा बोर्डबाट निकै आलटाल भइरहेको बताए । अब सरकारले गर्नुपर्ने काम सबै गरिसकेको र नियामक निकयाले ५८ बुँदा कार्यान्वयनमा षडयन्त्र सुरु गरेको उनको भनाई छ ।

लगानीकर्ताको ३२ बुँदा र समितिले दिएको ५८ बुँदा कार्यान्वयन गराउने हो भने देशको पुँजी बजार प्राकृतिक हुने उनको भनाई छ । तर यसका लागि नियमनकारी निकाय बाधन बनेको लगानीकर्ताहरुको बुझाई छ ।

शुक्रबारसम्म ३२ र ५८ बुँदा कार्यान्वयनको चरणमा नजाने हो भने आगामी आइतबारदेखि नियमनकारी निकायका अधिकारीको घरअगाडि गएर आन्दोलन गर्ने दबाब समूहको सदस्य गोपाल स्वामीले बताए । सरकारले ५८ बुँदा कार्यान्वयन गर्न बाटो खुला गरेपनि नियामक निकायले गरेको बेवास्ताले लगानीकर्ताहरुलाई समस्या परेको उनको तर्क छ ।

लगानीकर्ताको आवाज बोर्डले नसुनेपछि केही दिनमा नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पुँजी बजारको विषयमा छलफल गर्ने तयारीमा उनीहरु रहेका छन् ।

आज लगानीकर्ता दबाब समूहका प्रतिनिधिले प्रधानमन्त्रीका सल्लाहकार अच्यूत मैनासीसँग भेट गरेका छन् । भेटमा उनले लगानीकर्ताले उठाएके विषयलाई सिरियस रुपमा लिएको बताए । केही दिनमा सेयर बजारको विषयमा प्रधानमन्त्री ओलीसँग छलफलका लागि समय लिने विषयमा पनि छलफल भएको स्वामीले बताए ।

पछिल्लो समयमा प्रधानमन्त्री ओलीले राजनीति भन्दा पनि देशको आर्थिक विषयमा पनि ध्यान दिन थालेका छन् । उनले शनिबार उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँग बढदो बैंकको ब्याजदरको विषयमा छलफल गरेका छन् ।


क्लिकमान्डु