सिएनआइको दबाबपछि अर्थमन्त्रालयमा तरलता बिषयमा छलफल, अभाब नरहेको गभर्नरको भनाइ



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बैंकिङ क्षेत्रमा तरलता अभाबको बिषयमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपाल, अर्थसचिब डा. शान्तराज सुबेदी र राजस्व सचिब राजन खनालसँग छलफल गरेका छन् ।

निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग परिसंघ (सिएनआइ) ले तरलता अभाबको कारण उद्योग चलाउन नसक्ने अबस्था आएको भन्ने जस्ता ब्यहोराको बक्तब्य सार्बजनिक गर्न लागेपछि अर्थमन्त्री महराले छलफल गरेका हुन् ।

यस्तै सिएनआइले अर्थमन्त्री महरालाई भेटेर तरलता अभाब जटिल भन्दै गएको र यसलाई सहज बनाउन निक्षेप पूँजी कर्जा अनुपात (सिसीडी रेसियो) खुकुलो बनाउनु पर्ने माग गरेको थियो । केही बैंकर तथा सिएनआइको दबाबको कारण अर्थमन्त्री महराले गभर्नर तथा सचिबद्धयसँग परामर्श गरेका हुन् ।

बिहिबार विहान भएको छलफलमा तरलता अभाबको बारेमा छलफल भएको राजस्व सचिब राजन खनालले जानकारी दिए । तरलता अभाब रहेको भन्ने केही बैंकर र सिएनआइको दाबी रहेपनि सहज हुँदै गएको गभर्नर र सचिबद्धयले प्रष्ट पारेका थिए ।

‘खासगरी तरलताको बिषयमा छलफल भएको हो, केही दिनयता तरलता सहज हुँदै गएकोले यसमा चिन्ता गरिरहनु नपर्ने भन्ने भयो,’ सचिब खनालले क्लिकमाण्डूसँग भने ।

बुधबार मात्रै गभर्नर डा. नेपालले बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी संघका प्रतिनिधिलाई राष्ट्र बैंकमै बोलाएर स्वनियमन कायम गर्न निर्देशन दिएका थिए । यस्तै उनले सिसीडी रेसियो कुनै पनि हालतमा खुकुलो नपार्ने प्रष्ट पारेका थिए ।

तर सिएनआइले सिसीडी रेसियो ८५ प्रतिशत पुर्याउन अर्थमन्त्री महरालाई ज्ञापनपत्र नै बुझाइ सकेको छ । अहिले यस्तो रेसियो ८० प्रतिशत छ ।


क्लिकमान्डु