निर्यात बढाउने लगानी सरकारको प्राथमिकता, चैत १५/१६ मा लगानी सम्मेलन



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले निर्यात बढाउने लगानीलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।

चैत १५ र १६ मा काठमाडौंमा गर्न लागिएको लगानी सम्मेलनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्ने लगानीले विशेष प्राथमिकता पाउने जानकारी दिए ।

लगानी सम्मेलनमा सरकारले पाँच क्षेत्रमा लगानी आकर्षण गर्न खोजेको छ । अर्थमन्त्री खतिवडाका अनुसार सम्मेलनमा कृषि व्यवसायिकरण,ऊर्जा,भौतिक पूर्वाधार,औद्योगिक क्षेत्र र सूचना प्रविधिमा विदेशी लगानी भित्राउनको लागि विशेष सत्र संचालन गरिने छ ।

अर्थमन्त्री खतिवडाले व्यापारघाटाको स्थितीमा सुधार गर्ने लगानी आकर्षण गर्ने बताए । उनले लगानीकर्तालाई आकर्षित गर्नको लागि १२ वटा ऐन र नियममा सुधार गर्ने काम भएको भन्दै हिउँदे अधिवेशनमा सबै विधेयक संसद्मा पेश हुने जानकारी दिए ।

लगानी आकर्षित गर्नको लागि लगानी बोर्डलाई शक्तिशाली बनाउने,सार्वजनिक खरिद ऐन,कम्पनी ऐन,विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन लगायतका लगानीसँग सम्बन्धित कानूनलाई निजीक्षेत्रसँग बसेर सुधार गरिने खतिवडाले बताए ।

‘श्रम समस्यामा हामीले निकै ठूलो सुधार गरेका छौ,योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएको छ,लगानीको लागि अनुकल वातावरण बन्दै गएको जानकारी दिन सम्मेलन आयोजना गर्न लागिएको हो,’खतिवडाले भने ।

उनले विश्व बैंकसँग डुइइङ विजनेश रिपोर्ट सुधार गर्ने काम भएको जानकारी दिए । विश्व बैंकले सार्वजनिक गरेको यो वर्षको रिपोर्टमा नेपालको स्थान खस्केको थियो ।

नेपालले २ वर्ष अगाडि लगानी सम्मेलन गरेको थियो । त्यो बेला १४ खर्ब रुपैयाँको लगानीको इच्छा जायर लगानीकर्ताले गरेका थिए । जसमा २ खर्ब ७५ रुपैयाँको बराबरको लगानीको प्रक्रिया नेपालमा आउन सुरु भएको खतिवडाले जानकारी दिए ।

‘हामीले चुनावमा प्रतिबद्धता व्यक्त गरे अनुसारको उपलब्धी हासिल गर्नको लागि सम्मेलन आवश्यक भएको हो,दुईवर्ष अगाडि गरिएको सम्मेलनले लगानीकर्तासँगको सम्बन्ध रिन्यू समेत हुने छ।’खतिवडाले थपे । उनले लगानी सम्मेलनले लगानीकर्तामा देखिएको द्धिविधा हटाउने र लगानीका सम्भावनालाई खोतल्ने बताए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी सम्मेलनले लगानी आकर्षण गर्नको लागि महत्वपूर्ण हुने बताए ।

दुईदिनसम्म सम्मेलनमा नेपाललाई सहयोग गर्दै आएका बहुपक्षिय दातृ निकाय,नेपाललाई सहयोग गर्दै आएका राष्ट्र र विदेशी लगानीका लागि आउने कम्पनी तथा नेपालका निजी क्षेत्र सहभागी हुने छन् । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।


क्लिकमान्डु