बैदेशिक लगानीको उल्टो ग्राफ, ओली सरकारलाई विदेशी लगानीकर्ताले विश्वास गरेनन्



काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा ४ अर्ब ९५ करोड रुपैयाँको बैदेशिक लगानी भित्रिएको छ ।

अघिल्लो वर्षको कात्तिक मसान्तसम्ममा १० अर्ब १७ करोड रुपैयाँ बैदेशिक लगानी आप्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।

ओली नेतृत्वको सरकार बनेपछि देशमा विदेशी लगानी बढ्ने अनुमान धेरैको थियो । तर,अहिले बैदेशिक लगानीको लागि भने उल्टो ग्राफ बनेको छ । अर्थात अघिल्लो वर्ष चुनावी सरकारभन्दापनि विदेशी लगानी घटेको छ ।

स्थिर सरकार आएपछि विदेशी लगानी बढ्ने अनुमान थियो । तर,सरकारले लगानीकर्तालाई आस्वस्त पार्न नसक्दा लगानी बढ्न सकेको छैन । अहिले व्यवसायको लागि श्रम समस्या र लोडसेडिङ समस्या छैन । यो हुँदापनि बैदेशिक लगानीको घट्नुले ओली सरकारलाई विश्वास नगरेको भन्ने देखिन्छ ।

सरकारले चैतमा लगानी सम्मेलन गर्ने भनेको छ । यसअघि भएको लगानी सम्मेलनमा करिब १२ खर्ब रुपैयाँको लगानी गर्ने इच्छा बैदेशिक लगानीकर्ताले व्यक्त गरेका थिए । तर,एक रुपैयाँपनि लगानी सम्मेलन अन्तर्गत लगानी आएन ।

‘लगानीको विषयमा सरकारमा बुझ्ने कोही पनि भएनन्,वास्तविक रुपमा लगानीकर्ताले काम गर्न सजिलो छैन’,उद्योग वाणिज्य महासंघका एक पदाधिकारीले भने ।

विश्व बैंकले जारी गरेको ड्युइइङ विजनेश रिपोर्टमा अघिल्लो वर्षभन्दा यो वर्ष थप लगानी गर्नको लागि कठिन भएको उल्लेख गरेको छ ।

अर्थात नेपालको स्थान १०५ बाट ११० स्थानमा तल झरेको छ । जसमा मुख्य रुपमा संघियतासँग आएको करलाई व्यवसाय गर्नको लागि कठिन भनेर व्याख्या गरिएको छ ।

अर्को ठूलो व्यवसायको लागि जग्गा प्राप्ती मुख्य समस्याको रुपमा देखा परेको छ । जग्गा मूल्यले लगानी गर्नको लागि समस्या खडा गरेको छ ।

विदेशी लगानीकर्ताको लागि सबैभन्दा ठूलो समस्या लगानी गरिसकेपछि निश्चित अवधी पछि फर्कने ग्यारेन्टीमा भएको छ । लगानीकर्ता भएको सम्पत्ति बिक्री गरेर फर्कदा ठूलो समस्या भोग्नु परेको बताउँछन् । जसको ग्यारेन्टी सरकारले दिन सकेको छैन ।


क्लिकमान्डु