सिसीटिभी जडानको अनुमति नलिए कारवाही



बैतडी :- जिल्ला प्रशासन कार्यालय बैतडीले सिसिटिभि जाेडेका तर अनुमित  नलिएकालाइ  कार्वाहि गर्ने भएकाे छ । कार्यालयले यसअघि गएको मङ्सिरमा अनुमति नलिएर सिसीटिभी जडान गरेकालाई ३५ दिनभित्र अनुमति लिन समयसीमा दिएको थियो ।

हालसम्म एक जनाले मात्रै सिसीटिभी जडानको अनुमति लिएका छन् ।  गोठलापानी बजारस्थित उदीप ट्रेडर्स एण्ड सप्लायर्सले मात्रै सिसीटिभी जडानको लागि अनुमति लिएको जिल्ला प्रशासन कार्यालय बैतडीका कम्प्युटर अपरेटर सुरेन्द्र भट्टले जानकारी दिए  ।

अपराध अनुसन्धान र नियन्त्रण गर्न विद्युतीय उपकरणलाई प्रभावकारी बनाउने प्रयोजनका लागि सिसीटिभी क्यामेरा प्रयोगलाई प्रोत्साहन गर्न उद्देश्यले जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ स्वीकृत लिई मात्रै जडान गर्नुपर्ने भएकाले अनुमति लिन आग्रह गरिएको थियो ।

प्रशासनले दिएको उक्त ३५ दिने समयसीमा समाप्त भइसक्दासमेत यहाँका सिसीटिभी प्रयोगकर्ताले अटेरी गरेका छन् । तर समयसीमाभित्रै विभिन्न सिसीटिभीका पाँच प्रयोगकर्ताले अनुमतिका लागि निवेदन दिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।  दोगडाकेदार गाउँपालिका, राष्ट्रिय वाणिज्य बैंक, स्मार्ट अपसेट प्रेस, मेघा बैंक र एनसिसी बैंकले सिसीटिभी जडानको अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

बैतडी जिल्लाभरि सिसीटिभी प्रयोगकर्ता कति छन् भन्ने यकिन तथ्याङ्क नभए पनि १०० को हाराहारीमा हुनसक्ने अनुमान  छ । कार्यविधि विपरित सिसीटिभी जडान एवं सञ्चालन भए गरेको पाइएमा विद्युतीय कारोवार ऐन, २०६३ बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउए ।

सिसीटिभी जडान एवं सञ्चालनका लागि अनुमति लिए नलिएको बारे अनुगमन गरिने र अनुगमनका क्रममा नलिएको भए कारवाही प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो । कार्यविधिअनुसार सिसीटिभी जडान गर्न अनिवार्य अनुमति लिनुपर्ने तथा खिचिएका श्रव्य दृश्य तथा अन्य विद्युतीय चित्र कम्तीमा पनि तीन महीनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था रहेको छ ।


पुष्प दुलाल