एक अर्ब लगानीमा लमही–तुलसीपुर सडक चार लेनको बन्ने



लमही । दाङको लमही–तुलसीपुर सडकखण्ड चार लेनको बन्ने भएको छ ।
उक्त सडकखण्डको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेनको बनाउन भारतीय तथ्य इञ्जिनीयरिङ कम्पनीसँग सम्झौता गरिएको छ ।

दुई लेन रहेको उक्त सडकलाई चार लेन बनाउन एक अर्ब ४४ करोड रुपैयाँ लागत अनुमान गरिए पनि एक अर्ब ६ करोड रुपैयाँमा निर्माण पूरा गर्न बोलपत्र स्वीकृति भएको परियोजना महाशाखाका निर्देशक ललित खनालले बताए ।

उनका अनुसार अबको एक महीनामा चार लेन बनाउने काम शुरु भइ दुई वर्षभित्र निर्माण पूरा गरिसक्नुपर्नेछ । भारतीय इम्पोर्ट एक्सपोर्ट बैंकको लगानीमा सडक चार लेन बन्न लागेको निर्देशक खनालले बताए । सो सडक बनाउने काम आइसिवी प्रणालीद्वारा हुने भन्दै गुणस्तरीय हुने उनको भनाइ छ ।

बस्ती भएको स्थानमा चार लेन र बस्ती नभएका स्थानमा भने ११ मिटर चौडाइ भएको सडक निर्माण गरिने छ । सडक चार लेन बनाउने विषयमा यसअघि पनि सरकारले बजेट भाषण भए पनि काम शुरु हुन सकेको थिएन । रासस


क्लिकमान्डु