चिनियाँ टोली फर्की सके, कोटेश्वर-कलङ्की सडक हस्तान्तरणको टुङ्गो अझै लागेन



ललितपुर । कोटेश्वर-कलङ्की सडक निर्माण सम्पन्न भएपनि सरकारलाई कहिले हस्तान्तरण गर्ने भन्ने अझै टुङ्गो लागेको छैन ।

सडक निर्माणका लागि आएको चिनियाँ टोली चीन फर्किसके पनि हस्तान्तरणको टुङ्गो नलागेको सडक निर्माणमा समन्वय गरिरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ ।

सडक निर्माणको काम तोकिएको समयमा सकिएको योजनामा कार्यरत इञ्जिनियर नीरञ्जन शर्मा अर्यालले बताए । चीन सरकारको सहयोगमा निर्माण भएको सडकको ठेक्का सङ्घाई निर्माण सेवा समूहले लिएको थियो । पछिल्लो पटक थप भएको म्याद (१५ डिसेम्बर)मा काम सकिएको समूहले जनाएको छ ।

चार वर्ष पहिले ४० महिनामा काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । विसं २०७२ को भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा एकवर्ष काम ठप्प भएको थियो ।

सरकारले पछिल्लो पटक एक वर्ष थपेपछि थपिएको अवधिमा काम सकिएको हो । उनले भने, “ठेकेदार कम्पनीले लिएको जिम्मेवारी पूरा गरेर फर्किसक्यो तर औपचारिक रुपमा हस्तान्तरणको टुङ्गो लाग्न बाँकी छ ।”

नेपालको पहिलो आठ लेन सडक र पहिलो पटक ‘अण्डर पास’ सडक भएकाले यसलाई चासोका साथ हेरिएको थियो । सडकको निर्माण र त्यसपछि सडक चिन्ह गरेर ठेकेदार कम्पनीले तोकिएको जिम्मेवारी पूरा गरिसकेको छ ।

सडक निर्माण सम्पन्न हुनासाथ चिनियाँ सरकारले नै कलङ्कीबाट महाराजगञ्जसम्मको सडक निर्माणमा चासो देखाएको छ । यो खण्डको सडक विभागले विस्तृत परियोजना अध्ययन गरिसकेको छ ।


क्लिकमान्डु