संचयकर्ता र कर्मचारीलाई जारी गरेको मध्यभोटेकोशीको आइपिओ बाँडफाँड



काठमाडौं । संचयकर्ता र कर्मचारीलाई जारी गरिएको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको साधारण सेयर बाँडफाँड भएको छ ।

निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार न्यूनतम ५० कित्ता सबै आवेदकले पाएका छन् ।

ग्लोबल आइएमई क्यापिटलका अनुसार ५० देखि ९० कित्तासम्म माग गर्नेले सो बराबरको सेयर पाएका छन् ।

यस्तै, १०० देखि ५०० कित्तासम्म आवेदन दिएका १ लाख १४ हजार ९१२ जनाले ९० कित्ताको दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ४५ हजार ४३० कित्ता सेयर भने १०० देखि ५०० कित्ता माग गर्नेमध्ये गोलाप्रथाबाट छनोट भएका ४ हजार ५४३ जनालाई १० कित्ताको दरले थप गरिएको छ ।

दोस्रो चरण संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई खुला गरिएको २१ लाख कित्ता सेयर रितपूर्वक आवेदन दिएका ८ हजार ४३९ जनालाई बाँडफाँट गरिएको छ । यसमा ५० देखि २५० कित्तासम्म माग गर्ने सबै ५७३ जना आवेदनकलाई माग अनुसार नै सेयर दिइएको छ ।

यसैगरी, २६० देखि ५०० कित्तासम्म माग गर्ने ७ हजार ८६६ जना आवेदकलाई भने २५० कित्ताका दरले सेयर दिइएको छ । यसरी बाँडफाँट गरेर बाँकी रहने १७ हजार १२० कित्ता सयर भने २६० देखि ५०० कित्तासम्मका लागि आवेदन दिएका मध्ये गोलाप्रथाबाट छनोट भएका १ हजार ७१२ जनालाई १० कित्ताका दरले थप गरिएको छ ।

यता, सञ्चयकोषका कर्मचारीलाई खुला गरिएको ६ लाख कित्ता सेयर भने कुल ६१२ जनालाई सञ्चयकोषको बाँडफाँट तालिका बमोजिम बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु