कारोबार रोक्ने गतिविधिप्रति नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण



काठमाडौँ । नेपाल धितोपत्र बोर्डले विगत केही दिनदेखि लगानीकर्ताले पूँजीबजारसम्बन्धी माग राख्दै दोस्रो बजार कारोवार रोक्नेसम्बन्धी गतिविधि भएकामा ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले विज्ञप्ति प्रकाशित गरी पछिल्लो समयमा मुद्रा तथा पूँजीबजारमा देखिएका समस्या समाधानका लागि सरकारले उच्चस्तरीय कार्यदल गठन भएको जनाइएको छ ।

ब्याजदर, शेयर बजार र ऋणपत्रलगायत समग्र मूल्याङ्कन गरी वित्तीय स्थायित्व एवम् लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्या पहिचान गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम गरिरहेकोसमेत बोर्डले उल्लेख गरेको छ ।

सो कार्यदलमा लगानीकर्ताको समेत प्रतिनिधित्व रहेको र प्रतिवेदन बुझाउने क्रममा रहेको भन्दै बोर्डले सरोकार भएकासँग छलफल गरी दिइने सुझावको कार्यान्वयनबाट बजारमा थप विकास एवम् स्थायित्व अभिवृद्धि हुने तथा लगानीकर्ताका मागसमेत सम्बोधन हुनेमा विश्वस्त रहेको विज्ञप्तीमा जनाइएको छ ।

दोस्रो बजार कारोवार सुसञ्चालनमा संयमताका लागि आग्रह गर्दै बजारलाई थप स्वच्छ, पारदर्शीरुपमा अगाडि बढाउन लगानीकर्ताका साथै सबै पक्षसँग सहयोगका लागि बोर्डले अनुरोध गरेको छ ।

पूँजीबजार सुधारको माग गर्दै शेयरलगानीकर्ता दबाब समूहले विगत १० दिनदेखि असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।


क्लिकमान्डु