मध्यपुरथिमि-सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास, लागत ६ करोड




भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ थिमि र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने हनुमन्ते खोलामा नयाँ पुल निर्माण हुने भएको छ । निर्माणाधीन नयाँ पुलको आज प्रतिनिधिसभा सांसद महेश बस्नेतले शिलान्यास गरे ।

मध्यपुरथिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा उनले भक्तपुरमा एकैसाथ एक दर्जन पुलको निर्माण कार्य अगाडि बढिरहेको बताउँदै गाउँगाउँमा पक्की सडक र सबै खोला तथा नदीमा पुल निर्माण कार्य भइरहेको बताए ।

भक्तपुरको जनताले अबको चार वर्षमा चौतर्फी विकास देख्ने बताउँदै उनले विकासको विरोध गर्ने आफैँ सकिँदै जाने टिप्पणी गरे । भक्तपुरको विकास अब कुनै हालतमा नरोकिने भन्दै विकासमा आएका समस्यालाई समाधान गर्दै लैजाने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश नं ३ का सांसद शशिजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिका-४ का वडा अध्यक्ष कुमार श्रेष्ठ, कार्यक्रममा सभापति एवं सूर्यविनायक नगरपालिका–४ का वडा अध्यक्ष उत्तम थापालगायतले तीन तहको सरकारले विकासका लागि बजेट विनियोजन गरेकाले विकास तीव्रगतिमा अगाडि बढेको बताए ।

आगामी असोजसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ डिभिजन सडक कार्यालय भक्तपुरको ६ करोड १० लाखको लागतमा निर्माण शुरु भएको हो ।

पुलको निरीक्षण

जनप्रतिनिधिले आज मध्यपुरथिमि नगरपालिकाको–४ र सूर्यविनायक नगरपालिकाका–३ बालकोट नयाँबस्ती जोड्न हनुमन्ते खोला निर्माण भइरहेको पुलको अनुगमन एवं अवलोकन गरेका छन् ।

प्रतिनिधिसभा सांसद महेश बस्नेत, प्रदेश नं ३ का सांसद शशिजङ्ग थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, एमाले अध्यक्ष वचन देउजा, प्रमुख जिल्ला अधिकारी नारायण भट्टलगायतले पुलको अवलोकन गरेका हुन् ।

डोलिडारको दुई करोड एक लाखको लागतमा निर्माण भइरहेको पुलको आज ढलान कार्य भइरहेको र ढलानको मजबुद, निर्माण कार्यको अवस्था लगायतका बारेमा उनले चासो व्यक्त गरेका थिए ।


क्लिकमान्डु