स्थानीय तहको संरचना गर्दा समायोजनमा प्राथमिकता दिन कर्मचारीको माग



रसुवा । स्थानीय निकायमा कार्यरत कर्मचारीले स्थानीय तहको संरचना गर्दा आफूहरुलाई पहिलो प्राथमिकता दिन माग गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निकायका अध्यक्ष लिलानाथ नेपालका अनुसार स्थानीय तहका संरचनामा कर्मचारीको व्यवस्थापन र समायोजन गर्दा हाल स्थानीय निकाय जिल्ला विकास समितिको कार्यालय, महानगर र उपनगरपालिका तथा गाउँ विकास समितिको कार्यालयमा कार्यरत कर्मचारीलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन र समायोजन गरी नपुग जनशक्ति निजामती सेवाबाट व्यवस्था गर्नुपर्नेलगायतका माग रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय रसुवामार्फत आइतबार सघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका मन्त्री एवम् सचिवलाई ज्ञापनपत्र बुझाइ आफ्ना जायज माग राखिएको र मागको सम्बोधन छिट्टै हुने अपेक्षा राखिएको कर्मचारीले बताएका छन् ।

करारमा रहेका छ हजार कर्मचारीको सेवा निरन्तरता र स्थायीत्वको सम्बोधन गरिनुपर्ने, सेवानिवृत्त हुँदा पाउने सेवा सुविधाको स्पष्ट व्यवस्था, नोकरी अवधिको हदलगायतका विविध माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ । रासस


क्लिकमान्डु